काठमाडौं । कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि विश्व परिवेशमा नै परिवर्तन आउने हुँदा नेपालले आर्थिक कुटनीतिलाई जोड दिनुपर्ने बताएका छन् ।
बिहीबार रिपोर्टर्स क्लबमा उनले अमेरिका अहिले पनि एक नम्बरको महाशक्ति राष्ट्र भएकोले अमेरिकाको निर्वाचन र नयाँ राष्ट्रपति आउँदा विश्वभरि नै असर पर्ने बताए ।
श्रेष्ठले भने, ‘अमेरिका अहिलेपनि एक नम्बर महाशक्ति भएको हुनाले अमेरिका मात्रै नभएर विश्वभरि त्यहाँको निर्वाचनको असर पर्छ । नेपालमा पनि असर पर्छ । यो सत्य कुरा हो । कमला ह्यारिसले जितेको भए, पूरानै नीति कायम हुन्थ्यो । कोल्ड वार बढाउने, युक्रेनको युद्ध जारी राख्ने अनि इजरायल–प्यालेस्टाईनको युद्धलाई झन चर्काउने हुन्थ्यो । तर ट्रम्पले युक्रेन वार अन्त्य गर्न २४ घण्टाभित्र पहल गर्छु भनेको छ । अब उसको चाईनासँग प्रतिष्पर्धा बढ्छ । ट्रम्पले इकोनोमी डिप्लोमासी गर्छु भनेको छ । ट्रम्पले त युद्धले अर्थतन्त्रलाई बिगारेको निश्कर्ष निकालेका छन् । उ आर्थिक सुधार गर्न चाहन्छ । ट्रेड वार चीनसँग गर्न चाहन्छ । युक्रेनमा चाँडै अन्त्य भए पनि इजरायलमा तुरुन्तै युद्ध रोक्ला जस्तो छैन् । किनकी ट्रम्पको इजरायलसँग घनिष्ठ सम्बन्ध छ ।’
उनले नेपालले अमेरिका र चीनबीच राम्रो सम्बन्ध होस भन्ने चाहेको बताए । श्रेष्ठले थपे, ‘नेपाल चीनसँग सीमा जोडिएको देश हो । अमेरिका र चीनबीच द्धन्द्ध बढ्दै गयो भने चीनलाई छेक्ने नीति ट्रम्पले अपनाउँछ । विश्वभरि युद्ध नचर्कियोस भन्ने अमेरिकामा पनि दबाब छ । हामीलाई त अमेरिका र चीनबीच राम्रो सम्बन्ध होस भन्ने छ ।’
श्रेष्ठले अहिले पनि अमेरिका र भारतबीच राम्रो सम्बन्ध नभएको खुलासा गरे । उनले भने, ‘भारतको हालैको निर्वाचनमा मोदीलाई साइज डाउन गर्न र झण्डै हराउन अमेरिका लागेको थियो, मोदीले मुस्लिम र क्रिश्चियनलाई भेदभाव गर्यो भनेर । काश्मिर इस्युमा अमेरिका र भारतको कुरा मिल्दैन् । चीनविरोधी गतिविधि गर्नमात्रै अमेरिका र भारत मिल्छन् । अहिले चीनसँग भारतले सम्बन्ध सुधार गरेको छ । बहुध्रुवीय विश्वनेताहरुमध्ये मोदी र सि जिनपिङ हो ।’
श्रेष्ठले अमेरिकाको राष्ट्रपतिको रूपमा दोस्रो कार्यकाल जितेका ट्रम्पसामू पनि चूनौति रहेको बताए । उनले भने, ‘युक्रेन युद्धपछि एक ध्रवीय नीति फेल भएर बहुध्रुवीय विश्व निर्माण भएको छ । अहिले भारत, रुस, चीन, इरान, इण्डोनेसिया बहुध्रवीय विश्व निर्माणमा लागेका छन् । नेपालको हितपनि बहुध्रुवीय विश्व व्यवस्थामा छ । नेपालमा यसपालि सरकार कमजोर भएकोले पाकिस्तानको सांघाई कोअपरेशनमा निम्तो आएन । नेपालले द्धिपक्षीय सम्बन्ध भारत, चीन, अमेरिका सबैसँग राख्नुपर्छ । दुई छिमेकी मुलुक भारत र चीनविरुद्ध अरू तेस्रो मुलुकसँग गठबन्धन गर्नुहुँदैन । हामीले कसैको पनि सैनिक छाता ओढ्नुहुँदैन् । ट्रम्पको पालामा नाफा र घाटाको हिसाब हुन्छ । यो बेलामा हामीले पनि इकानोमी डिप्लोमेसीलाई प्राथमिकतामा राख्नुपर्छ । हामी कसैको पनि सुरक्षा तानातानमा नफस्ने हुनुपर्छ । जापान, इयु सबैसँग सहयागे लिनुपर्छ । इस्ट–वेष्ट हाईवे बनाउँदा सबै देशको सहयोग लिएजस्तै हामीले सबैसँग सहयोग लिन सक्नुपर्छ । नेपालले चीन, भारत र अमेरिका कसैको बेस बन्न दिँदैन् । सबैसँग मित्रता बढाऔं, कसैको सुरक्षा पुच्छर नबनौं ।