कर्जा प्रवाहमा कोभिडको जस्तो युगमा नफर्किने सन्देश दिनुपर्योः वाग्ले

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा स्वार्थ बाझिने गरी काम भइरहेको बताएका छन् । 

बुधवार संसदको अर्थ समिति बैठकमा उनले वित्तीय संस्थाहरुमा शेयर खरिद बिक्रीमा पनि स्वार्थ बाझिने गरी भइरहेका कामलाई राष्ट्र बैंकले सुक्ष्म अध्ययन गरेर रोक्न आवश्यक रहेको बताए । 

Advertisement

वाग्लेले अन्य निकायहरु भन्दा राष्ट्र बैंक विशिष्ट अधिकार प्राप्त संस्था भएकाले त्यहीअनुसार काम गर्न आवश्यक रहेको बताए । उनले राष्ट्र बैंकले विगत १५ वर्ष अघिको जस्तो बैंकहरुबाट जथाभावी रुपमा हुने कर्जालाई सिमामा बाध्न खोजेको भए आम जनतालाई भन्न जरुरी रहेको बताए । 

साँसद वाग्लेले कोभिडको बेला पुनःकर्जा लगाएका सुविधाले मानिसहरुमा विगतको जस्तै सुविधा पाउने आशामा रहेकाले कोभिडको जस्तो युगमा नफर्किने सन्देश दिन आवश्यक रहेको बताए । उनले घरजग्गालाई धितो राखेर ऋण लिने जमाना गयो भन्ने सन्देशमा राष्ट्र बैंकले दिन खाजेको हो ? भन्दै प्रश्न गरे । 

सांसद वाग्लेले पछिल्लो एक वर्षमा ७ प्रतिशतले कर्जा प्रवाह कम हुनु चिन्ताको विषय भएको बताए । उनले निक्षेपमा भएको वृद्धि कर्जामा परिणत हुन आवश्यक रहेको बताए । 

वाग्लेले भने, ‘कर्जा र निक्षेपको रेसियो गत वर्षको मंसिरको तुलनामा ७० बाट ८० मा झर्यो भन्नुभयो । तर निक्षेप बढी रहेको छ । कर्जा त्यही अनुपातमा बढेन् । एक वर्षमा ७ प्रतिशत कर्जा प्रवाह कम हुनु भनेको राम्रो होइन । तरलता बढ्नु राम्रो भयो तर कर्जामा परिणत नहुनु चिन्ताजनक हो । अहिले बैंकहरुले घरजग्गा धितो राखेर कर्जा दिन निरुत्साहित भइरहेका छन् । जसको क्यास इनकम र जसको नगत प्रवाह छ उनीहरुले ऋण पाउन थालेका छन् । पहिलाको जस्तो जथाभावी कर्जाको युगबाट आउन खोज्दैछौं । घरजग्गालाई धितो राखेर ऋण लिने जमाना गयो भन्ने सन्देशमा राष्ट्र बैंकको बुझाई के हो ? १५–२० वर्ष देखिको कर्जा विस्तारलाई सिमाभित्र बाध्न थालेको भए भन्दा हुन्छ । जनप्रतिनिधिमा जन दबाब नआओस् । कोभिडको बेलाका अर्बौंको पुनरकर्जा लगायतमा फर्कने आश जनताले गरेका छन् । अब हामी त्यो युगमा फर्कंदैनौं भन्ने सन्देश आयो भने सजिलो हुन्छ । पछिल्लो समय वित्तीय क्षेत्रमा पनि स्वार्थ बाझिएका कुराहरु आएका छन् । राष्ट्र बैंकले देखिने गरी उठाउनु पर्यो ।’

Advertisement

Advertisement