बंगलादेशमा विजुली निर्यात गर्न सम्झौता भए पनि भारतले दिएन अनुमति

Advertisement

काठमाडौं । भारतले स्वीकृती दिन ढिलाई गर्दा यो सिजनमा बंगलादेशमा विद्युत् निर्यात गर्ने संभावना टर्दै गएको छ । 

नेपालको ४० मेगावाट विद्युत् भारतीय प्रसारणलाइन हुँदै बंगलादेशमा निर्यात गर्ने गरि गत असोज १७ गते काठमाडौंमा भारतीय पक्षसहितको त्रिपक्षीय सम्झौता भएको थियो । सम्झौतामा हस्ताक्षर गरेको भारतले बिजुली निर्यातका लागि अनुमति दिन आनाकानी गरेको हो । सम्झौता भएको एक महिनामा बिजुली निर्यात सुरु गर्ने भनिए पनि अहिलेसम्म निर्यात सुरु हुन सकेको छैन् । 

Advertisement

बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोत सल्लाहकार (मन्त्री) सैयदा रिजवाना हसनको उपस्थितिमा नेपालका तर्फबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बंगलादेशको तर्फबाट बंगलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहमद रेजुल करिम र भारतको तर्फबाट एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन)की प्रमुख कार्यकारी अधिकृत रेणु नारङले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । 

बंगलादेशसँगको सम्झौताले मात्रै बंगलादेशमा विद्युत् निर्यात गर्न सकिने अवस्था थिएन । भारतीय प्रसारणलाइन प्रयोग हुने भएकाले यसमा भारतीय शर्त पनि लागू हुनेछ । त्यो शर्तअनुसार बंगलादेशमा विद्युत् निर्यात गर्न भारत सरकार (केन्द्रीय विद्युत् नियमन आयोग)बाट परियोजना नै तोकेर स्वीकृत लिनुपर्छ । 

भारतमा पनि विद्युत् बिक्री गर्दा यो शर्त लागू भइरहेको छ, जुन शर्त बंगलादेशमा निर्यात गरिने विद्युतको हकमा पनि भारतले लागू गरिदिएको छ । साथै, त्यहाँको नेसनल लोड डिस्प्याच सेन्टर (एनएलडीसी)बाट ‘नो अब्जेक्सन लेटर’ पनि लिनुपर्छ । एनएलडीसी त्यहाँको ग्रिड व्यवस्थापन गर्ने निकाय हो । 

नेपालबाट ४० मेगावाट विद्युत् त्यहाँको ग्रिडमा समावेश गर्नका लागि उक्त निकायले आफ्नो ग्रिडमा कोटा छुट्टाएर नो अब्जेक्सन लेटर दिनुपर्छ । यो दुई प्रक्रिया पुगेपछि मात्रै नेपालबाट भारतीय प्रसारण प्रणाली अर्थात् ग्रिडमा विद्युत् पठाउन सकिनेछ । त्यसपछि सोही विद्युत् भारतले बंगलादेश पुर्याइदिने छ । 

तर, भारतले अझै पनि यो दुई वटा स्वीकृति नदिएको प्राधिकरणका एक उच्च अधिकारीले बताए । सम्झौताअनुसार पाँच बर्षसम्म जुन १५ देखि नोभेम्बर १५ तारिखसम्म नेपालदेखि ४० मेगावाट विद्युत् बंगलादेशमा निर्यात गरिनेछ । त्योअनुसार यो बर्ष नोभेम्बर १५ तारिख (कात्तिक ३०) सम्म विद्युत् निर्यात गर्न पाइन्छ । त्यो दिन आउन अब नौ दिन मात्रै बाँकी छ । 

प्राधिकरणले २५ मेगावाटको त्रिशूली र २२ मेगावाटको चिलेमे जलविद्युत आयोजनाको विद्युत् बंगलादेश निर्यात गर्ने गरि स्वीकृतीका भारतमा निवेदन दिएको छ । उक्त दुई परियोजना भारतकै सहयोगमा बनेका हुन् । त्यहाँको विद्युत् भारतीय बजारमा बिक्री गर्ने गरि यसअघि नै स्वीकृत भइसकेको छ । 

तर, त्यही आयोजनाको विद्युत् बंगलादेशमा बिक्री गर्छु भन्दा भारतले अझै स्वीकृति दिएको छैन । त्यसपछि एनएलडीसीबाट पनि नो अब्जेक्सन लेटर आउन पनि बाँकी नै छ । हालसम्म पनि उक्त दुई स्वीकृती नआउँदा यो बर्ष बंगलादेशमा विद्युत् निर्यात हुने सम्भावना कम देखिएको प्राधिकरणका एक उच्च अधिकारीले बताए । 

यसअघि कात्तिक १६ गतेदेखि विद्युत् निर्यात गर्ने सहमती भएको थियो । त्यो मितिभित्र स्वीकृती नआएपछि कात्तिक २३ अर्थात् यही शुक्रबारदेखि विद्युत् निर्यात गर्ने सहमती भएको थियो । तर, भारतले स्वीकृती नदिँदा कात्तिक २३ देखि पनि बंगलादेशमा विद्युत् निर्यात हुने सम्भावना कम भएको स्रोतको भनाइ छ ।

यसैबीच नेपालका ऊर्जा मन्त्री दीपक खड्का पनि भारत भ्रमण सकेर बुधबार मात्रै काठमाडौं फर्किएका छन् । भारतको नयाँदिल्लीमा आयोजित अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग लिन उनी भारत गएका थिए । 

त्यस क्रममा उनको भारतका विद्युत मन्त्री मनोहरलाल खट्टरसँग मंगलबार भेटवार्ता भएको थियो । त्यसबेला बङ्गलादेशसँगको विद्युत व्यापारको बिषयमा पनि छलफल भएको भेटमा सहभागी मन्त्रालयका उर्जा विज्ञ प्रबल अधिकारीले जानकारी दिए । त्यो अवस्थामा छिट्टै केही सकरात्मक सन्देश आउने अपेक्षा भने गरिएको छ । 

हाल नेपालले सिमा जोडिएको दक्षिण छिमेकी मुलुक भारतमा मात्रै विद्युत् निर्यात गर्दै आएको छ । सीमा नै नजोडिएको तेस्रो मुलुक अर्थात् बंगलादेशमा पहिलो पटक विद्युत् निर्यात हुँदैछ । यो दक्षिण एसियाकै पहिलो उपक्षेत्रीय विद्युत् व्यापार हो । 

प्राधिकरणले बंगलादेश विद्युत बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने छ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर विन्दुमा रहेको मिटरको आधारमा पाउने छ । 

ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बहरामपुर भारत–भेरमारा बंगलादेश ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेशमा नेपाली विद्युत् पुग्नेछ । यसबापत भारतले पनि निश्चित शुल्क पाउने छ । 

Advertisement

Advertisement