पोर्चुगलका लागि प्रस्तावित राजदूतमा सनिल नेपालको नाम सर्वसम्मत

Advertisement

काठमाडौँ । संघीय संसद् संसदीय सुनुवाई समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपाललाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।

राजदूतका लागि सरकारले प्रस्ताव गरेको नेपालको नाम समितिको आजको बैठकबाट सर्वसम्मतिले अनुमोदन भएको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले जानकारी दिए ।

Advertisement

प्रस्तावित राजदूत नेपालले समितिमा आफ्नो सोच, अनुभव, अवधारणासहितको कार्ययोजना प्रस्तुत गरेका थिए । समिति बैठकमा सदस्यहरुले राखेको जिज्ञासामा उहाँले आफ्नो ज्ञान, क्षमता र विवेकले भ्याएसम्म कार्यसम्पादन र जिम्मेवारी गौरव गर्न लायक हुनेगरी पूरा गर्ने बताए । 

 पोर्चुगलबाट हरेक वर्ष नेपालमा १० हजारको सङ्ख्यामा पर्यटक भित्र्याउने गरी काम गर्ने पनि उनको भनाइ छ । युवाको प्रतिनिधित्वलाई अब्बल सावित गर्न कामको प्राथमिकीकरणसहित नतिजा देखिने गरी आफूले कार्य सम्पादन गर्ने पनि नेपालले विश्वास दिलाए । 

गत कात्तिक २ गतेको मन्त्रिपरिषद् बैठकले पोर्चुगलमा नेपाली दूतावास खोल्ने र राजदूतमा नेपाललाई नियुक्त गर्ने निर्णय गरेको थियो । पछिल्लो समय पोर्चुगलमा जाने नेपाली नागरिकको सङ्ख्या बढिरहेको छ । मुख्यगरी कृषि क्षेत्रमा कामदार र अध्ययनका लागि नेपाली पोर्चुगल जाने गरेका छन् ।

Advertisement