दलित समुदायसँग नाम जोडिएका हिमालको प्रवर्द्धन हुन नसकेको गुनासो

Advertisement

काठमाडौं । सोमबार पर्यटन विभाग, दलित अधिकार तथा विकास केन्द्र, व्यवसायिक विकास तथा अनुसन्धान केन्द्र, कलंकीबीच गन्धर्व चुली र सार्की (चमार) हिमालको प्रर्वद्धनमा दलित समुदायको भूमिका विषयमा छलफल भएको छ ।

छलफलमा सहभागीहरुले यी हिमालहरुको प्रवर्द्धन हुन नसकेको गुनासो गरे । संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयको पर्यटन प्रवर्द्धन महाशाखाका प्रमुख, सहसचिव गोविन्द कार्कीले गन्धर्व चुली र सार्की (चमार) हिमालले जति प्रचारप्रसार पाउनुपर्ने हो, त्यति नपाएको बताए । 

Advertisement

उनले भने, ‘पर्यटन क्षेत्रमा दलित समुदायको ऐतिहासिक सम्झौता छ तर यी हिमालहरुले जति प्रचार–प्रसार पाउनुपर्ने हो, त्यति पाएको देखिँदैन, पर्वतीय दिवसलाई जोडेर दलित समुदायको नामसँग जोडिएका हिमालहरुको प्रचार प्रसार नभएको भन्दै आवाज उठ्नु सकारात्मक हो । हिमालहरुको जति जसरी उहाँहरु प्रचार प्रसारमा लाग्नु भएको छ, यो एउटा राम्रो सुरुवात हो । हाम्रो हिमालहरु ४१९ वटा हिमालमा आरोहण अनुमति नै छ ।’

गन्धर्व चुली र सार्की (चमार) हिमाल आरोहणको लागि विदेशी तथा आन्तरिक पर्यटकहरुलाई विशेष प्रोत्साहन गर्दै सरकारबाट रोयल्टी छुट दिनुपर्ने माग सहभागीहरुले राखेका थिए । 

पर्यटन विभागका महानिर्देशक चक्रबहादुर बुढाले गन्धर्व चुली र सार्की (चमार) हिमाल मात्र नभएर नेपालका अन्य धेरै हिमालहरु प्रवर्द्धन जरुरी रहेको बताए । हाम्रा कतिपय हिमालहरुमा आरोहण सुरु गरियो तर निरन्तर रुपमा भने आरोहण भइरहेको  छैन् भन्दै पर्यटन विभागले पर्यटकीय पूर्वाधारहरु निर्माण गरिरहेको र सरोकारवाला सबैसँग सहकार्य गरि अघि बढ्न विभाग प्रतिवद्द रहेको बताए ।

अन्तक्रियामा गोरखाको चुम नुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले भने, ‘मनास्लु, गणेश हिमाल पनि हाम्रै गाउँपालिकामा पर्छ । अहिले हामी गन्धर्व चुली र सार्की हिमालको प्रवर्द्धनमा लागिपरेका छौँ । हाम्रै पहलमा भर्खरै मात्रै मनास्लु हिमालमा राम्रो मात्रामा आरोहीहरुले आरोहण गरे । आगामी दिनमा यो संख्यालाई  बढाउने हाम्रो योजना रहेको छ ।’

Advertisement

Advertisement