शेयर बजार झिनो अंकले उचालियो, कारोबार रकम भने उत्साहजनक

Advertisement

काठमाडौं । बुधबार झिनो अंकले बढेर शेयर बजार बन्द भएको छ । नेप्से थोरै माथि चढे पनि कारोबार भने उत्साहजनक रह्यो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २.६० अंकले बढेको हो । ०.१३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९८८.०४ अंकमा उक्लिएको छ । 

Advertisement

आज २९२ कम्पनीका १ करोड २० लाख ९५ हजार ५ सय ३९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९० करोड ९१ लख ९८ हजार ५ सय ७०.२७ रुपियाँ बराबरको कारोबार भयो । 

नेप्से झिनो अंकले उचालिए पनि विभिन्न ५ कम्पनीका शेयरधनीहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । बोटलर्स नेपाल (बालाजु) लिमिटेड, मोलुङ हाइड्रो, घलेम्दी हाइड्रो, सानिमा बैंकको डिबेञ्चर र मानुषी लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, ९.९८, ९.९६, ९.७८ र ९.७८ प्रतिशतले नाफा कमाएका हुन् । 

त्यस्तै आज कुथेली बुखरी स्मल हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.६९ प्रतिशतले घाटा व्यहोरे । 

आज सोनापुर मिनिरल्सको उच्च कारोबार भयो । उक्त कम्पनीको १४ करोड ६७ लाख ९३ हजार १ सय ५६.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।      

साताको पहिलो दिन बजार १११ अंकले उचालिंदै ६ प्रतिशतले बढ्दा कारोबार नै बन्द भएको थियो भने सोमबार १५.४० अंकले बजार तल झर्दा ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३ सय ८६.८४ रुपियाँ र हिजो मंगलबार ३६.८६ अंकले बजार बढ्दा  ४ अर्ब ३० करोड ९० लाख १९ हजार १ सय ९६.२६ रुपियाँ बराबरको कारोबार भएको थियो । 

Advertisement

Advertisement