वरिष्ठ संस्कृतिविद् गुरुङ भन्छन्– नेपालमा संघीयता टिक्ला भन्ने लाग्दैन्

Advertisement

काठमाडौं । वरिष्ठ संस्कृतिविद् जगमान गुरुङले नेपालमा संघीयता कायम रहनेमा आशंका व्यक्त गरेका छन् । शनिवार राजधानीमा सुदूरपश्चिम र कर्णाली क्षेत्रको लोकसाहित्य र संस्कृतिमा आधारित पुस्तक ‘काली–कर्णालीको लोकसाहित्य र संस्कृति’ लोकार्पण कार्यक्रममा उनले यस्तो आशंका व्यक्त गरेका हुन् । 

गुरुङले चुनाव जितेर आएर मात्रै माननीय नहुने र माननीय हुनका लागि लोकले मान्नुपर्ने बताए ।  लोकले मानेन भने राष्ट्रपति हुँदैमा सम्माननीय नभइने उनको भनाइ छ । गुरुङले नेताहरुले नै प्रदेश रहने कुरामा आशंका व्यक्त गरिरहेको बताए । 

Advertisement

आफू नेपाल प्रज्ञा प्रतिष्ठानमा रहँदा सात वटै प्रदेश चिनाउने ग्रन्थ रचना गर्ने भनेर लागेपनि सरकारले सहयोग नगरेको उनले गुनासो गरे । गुरुङले नेपालको सर्वाङ्गिण विषय समेटिएको ग्रन्थ सम्पादन र प्रकाशन गर्न आवश्यक रहेको बताए । 

उनले भने, ‘नेपाल प्रज्ञा प्रतिष्ठानमा आएपछि मैले के कुरा उठाएँ भने सत्यमोहन जोशीको संयोजकत्वमा यस्तो काम गरेको छ । नेपाल चिनाउने ग्रन्थ छैन, अहिले नेपाल सात प्रदेशमा विभाजित भयो, सातै प्रदेशको सर्वाङ्गिण विषय समेटिएको ग्रन्थ रचना गर्नुपर्छ भनेर एउटा परियोजना सञ्चालन गर्ने लक्ष्य राखेको थियौँ । तर सरकारबाट सहयोग भएन् । प्रज्ञा प्रतिष्ठानको बजेट कटाएर अहिले समस्या कहाँ छ त, कुन प्रदेशमा छ भन्दा मधेस प्रदेश । मधेसको अनुसन्धान गर्नुपर्छ, तर पहाडकाले होइन, मधेसकैले हो । हाम्रो इतिहास अर्कोले लेखेर बिगारिदियो भन्छ । त्यसैले उनीहरुलाई नै लेख्न लगायाँै । ग्रन्थ तयार भयो तर हामी अवकाश पायाँै । छापेर ठिक्क प्रेसमा जान लागेको छ । त्यो ग्रन्थ तुहिएको होइन, अझै छ । कुनैबेला आउला । त्यो सातै प्रदेशको इतिहास समेटिएको पुस्तक आउनेछ ।’

गुरुङले थपे, ‘सातै प्रदेश रहन्छ की रहँदैन, रहँदैन भन्छन्, नेताहरु । तर नेपाल त रहन्छ । नेपालको सर्वाङ्गिण विषय समेटिएको ग्रन्थ सम्पादन हुन्छ र प्रकाशन हुन्छ । यसले राजाको मात्रै कुरा गर्छ भन्लान् । नेपाललाई चिनाउने इन्साइक्लोपिडिया छ त ? छैन । चुनाव जितेर आएर मात्रै माननीय हुँदैन, लोकले मान्नुपर्छ । अहिलेका कतिपयलाई लोकले मानेको छ ? मानेको छैन । राष्ट्रपति हुँदैमा सम्माननीय हुँदैन । लोकले मान्नुपर्छ । हामीले राष्ट्रको प्राज्ञिक आवश्यकताको परिपूर्ति गर्नुपर्छ । विश्वविद्यालय, प्रज्ञा प्रतिष्ठानले गर्नुपर्ने भन्नेकुरा आयो । गर्छु भनेर पनि सरकारले सहयोग गर्दैन । आफूआफूमा माननीयहरुले पाँच करोड, कति कति राख्छन् । तर देशलाई चिनाउने इनसाइक्लोपिडिया रचना गर्छौं पैसा देउ भन्दा मान्दैन ।’

उनले राष्ट्रको प्राज्ञिक आवश्यकताको परिपूर्ति गर्नुपर्ने भन्दै देशलाई चिनाउने इनसाइक्लोपिडिया रचना गर्न बजेट माग्दा सरकारले सहयोग नगरेको बताए । यस पुस्तक देउडा गीतका गायक यज्ञराज उपाध्यायले रचना गरेका हुन् । नौसय ८४ पृष्ठको उक्त पुस्तकमा सुदूरपश्चिम र कर्णालीमा प्रचलित लोकसाहित्यका विभिन्न विधा–उपविधाहरूलाई केलाइएको छ । 

Advertisement

Advertisement