आवश्यक परे संसदबाट राजीनामा दिएर सडकमा आउन तयार छौंः लिङदेन

राजसंस्थासहितको हिन्दूराष्ट्र पुनस्थापनाका लागि आन्दोलन गर्ने राप्रपाको घोषणा

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्थासहितको हिन्दूराष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि देशभर आन्दोलन गर्ने निर्णय गरेको छ ।

आईतवारबाट बसेको सो पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले पुस, माघमा देशभर सभा र तयारीका कामहरु गर्ने पनि निर्णय गरेको छ । फागुन महिनामा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रती प्रदर्शन गर्ने निर्णय गरेको छ । 

Advertisement

त्यस्तै, आन्दोलनका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मुल समिति गठन गरेको छ । डा. धवलशमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति, पार्टीका कोषाध्यक्ष निलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक परिचालन समिति, प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठको प्रचार तथा प्रसार समिति गठन गरेको छ । 

कोषाध्यक्षबाट प्रश्तुत आर्थिक प्रतिवेदन, सचिवालयका प्रतिवेदन लगायत प्रदेश कार्य समितिका प्रतिवेदनहरु परिमार्जनसहित पारित गर्ने निर्णय भएको पनि पार्टी अध्यक्ष लिङदेनले बताए । 

उनकाअनुसार बैठकले जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्प प्रभावित परिवारहरुलाई तत्काल पालबाट अस्थायी आवासमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । लिङदेनले भने, ‘मुलुकको बिग्रदो अर्थतन्त्र, आम जनतामा बढ्दो निराशा, चरम बेरोजगारी, आर्थिक मन्दीका कारण साना किसान तथा उद्यमीहरूमाथिको बढ्दो ऋणभार, युवा शक्तिको विदेश पलायन, भष्ट्रचार लगायतका जनजीविकाका मुद्दाहरुका साथै राजसंस्था, सर्वधर्म समभावपूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि व्यापक जनदबाव सिर्जना गर्न बृहत् आन्दोलन गर्ने निर्णय गरिएको छ ।’ 

उनले थपे, ‘आन्दोलनको तयारीका लागि पुस, माघमा देशैभर व्यापक सभा तथा तयारीका कामहरु गरिनेछ । फागुन महिनामा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय गरिएको छ । आन्दोलनका लागि समान विचार राख्ने दलहरु, अभियान तथा धार्मिक सङ्घ, संगठन, उद्योगी, व्यावसायी, विभिन्न पेशाकर्मीहरु, बुद्धिजीवी एवं देशभित्र र देशबाहिर रहनुभएका सम्पूर्ण राष्ट्रवादी नेपालीलाई सरिक हुन राप्रपा हार्दिक आव्हान गर्दछ। नवीन राप्रपा कार्ययोजनाका बाँकी कार्यहरु पनि आन्दोलनको अंगको रुपमा सम्पन्न गर्ने निर्णय गरिएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा केन्द्रिय आन्दोलन मुल समिति गठन गरिएको छ र सो समितिमा केन्द्रिय कार्य समितिका सबै पदाधिकारी, केन्द्रिय सदस्यहरु तथा आमन्त्रित केन्द्रिय सदस्यहरु रहनेछन् ।

यस्तो छ राप्रपाको निर्णयहरुः 
– पार्टीका संगठन विभाग प्रमुख, महामन्त्री डा. धवलशमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन ।

– पार्टीका कोषाध्यक्ष निलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक परिचालन समिति गठन ।

– प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठको प्रचार तथा प्रसार समिति गठन ।

– आवश्यकता अनुसारका अन्य समितिहरु गठन गर्ने ।

– नविन राप्रपा कार्ययोजना अन्तर्गत भुगोल केन्द्रित जिम्मेवारीको समिक्षा गर्दा हालसम्मको प्रगति उत्साहजनक रहेकोले कार्यक्रमलाई निरन्तरता दिने र चैत्र मसान्तसम्म म्याद थप गर्ने । 
– आवश्यकताअनुसार जिम्मेवारी हेरफेर गर्ने, जिम्मेवारीमा नजानेलाई सचेत वा कारवाही गर्ने साथै नविन राप्रपा कार्य योजनाका बाँकी कार्यहरु पनि क्रमशः सम्पन्न गर्ने निर्णय गरिएको छ ।

– कोषाध्यक्षबाट प्रश्तुत आर्थिक प्रतिवेदन, सचिवालयका प्रतिवेदन लगायत प्रदेश कार्यसमितिका प्रतिवेदनहरु परिमार्जनसहित पारित ।

– केन्द्रिय कार्य सम्पादन समितिबाट भएका निर्णयहरु अनुमोदन ।

– जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्प प्रभावित परिवारहरुलाई तत्काल पालबाट अस्थायी आवासमा स्थानान्तरण गर्न राप्रपा सरकारको गम्भीर ध्यानाकर्षण गराउने, तत्काल अस्थायी आवास निर्माण गर्ने काममा नेपाली सेना र सशस्त्र प्रहरी बललाई जिम्मेवारी दिन सरकारसँग माग गर्ने ।

– वित्तीय संस्थाको चर्को व्याज दरका कारण उद्योगी, व्यावसायी र खास गरी साना उद्यमी व्यावसायी तथा किसानहरुको धितो लिलाम हुने परिस्थिति सिर्जना भएकाले उनीहरुको भुक्तानी तालिका कम्तिमा एक वर्ष म्याद थप गर्न र  ब्याज दरलाई एकल बिन्दुमा ल्याउन सरकार तथा नेपाल राष्ट्र बैंकसँग माग गर्ने । 

– उखु किसानले प्राप्त गर्नुपर्ने रकम कुनै बिलम्व नगरी तत्काल उपलव्ध गराउन र दुग्ध किसानले पाउनुपर्ने रकम शीघ्र र सहज रुपमा उपलव्ध गराउन राप्रपा सरकारको ध्यानाकर्षण गराउने ।

– प्रवासमा रहेका नेपालीले मतदान गर्न पाउने कानुनी अधिकारको सुनिश्चितता सहितको कानुन आगामी संसदको अधिवेशनबाट पारित गर्ने गरि अविलम्ब संसदमा पुर्याउन सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराउने ।

– पार्टीको प्रवासको भुमिकालाई उच्च मूल्यांकन गर्दै हाल प्रवास क्षेत्रको वैधानिक भुमिकालाई बिस्तार गर्न वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई अध्ययन गरी प्रतिवेदन दिन जिम्मेवारी दिने ।

– एनसेल अजियाटाको शेयर बिक्रीमा भएको भ्रष्टाचारको विरोध गर्ने, यस विषयमा उच्चस्तरीय छानवीन गर्न जोडदार माग गर्ने, साथै पार्टीभित्र अनुसन्धानका गर्ने, यसको लागि प्रवक्ता एवं सुशासन विभाग प्रमुख ज्ञानेन्द्र शाहीलाई संयोजक तोक्ने, 

– लामो प्रतिक्षापछि पनि मेलम्ची खानेपानीबाट काठमाडौं उपत्यकामा नियमित पानी आपूर्ति हुन नसकेको अवस्थालाई दृष्टिगत गर्दै तत्काल खानेपानी आपूर्तिको व्यवस्था गर्न र मेलम्ची खानेपानी आयोजनामा भएको भ्रस्टाचारको छानविन गर्न माग गर्ने । 

– स्वास्थ्य बीमा गरेका विमित बिरामीले पाउने उपचार र सुविधा जुनसुकै अस्पतालबाट पाउने व्यवस्था गर्न, औषधिको सुविधा सहजै पाउने वातावरण सुनिश्चित गर्न र सेवा प्रदायक अस्पतालले पाउने भुक्तानी तत्काल उपलब्ध गराउन सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने ।

– रुस–युक्रेन युद्धमा होमिएका नेपाली युवाहरु फिर्ता गर्न तथा हमासको कब्जामा रहेका विपिन जोशी एवं युक्रेनको नियन्त्रणमा रहेका नेपालीहरुको शिघ्र रिहाईको प्रभावकारी कुटनीतिक पहल गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउने ।

Advertisement

Advertisement