काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफूहरु कार्यरत उद्योगमा बिजुली काटेको विरोधमा इटहरीस्थित रिलाइन्स स्पिनिङ मिल्सका मजदुरहरु अझ सशक्तरुपमा विरोधमा उत्रिने तयारी गरेका छन् ।
उक्त धागो उद्योगमा चार हजारभन्दा धेरै कार्यरत छन् । प्राधिकरणले उद्योगको विद्युत लाइन काटेर आफूहरुको रोजीरोटी खोस्न खोजेको भन्दै उनीहरुले मंगलबारसम्म हेर्ने र समस्या समाधान नभए बुधबारबाट पुन विरोधमा उत्रिने तयारी गरेका छन् ।
उद्योगमा कार्यरत एक मजदुर रमेश सिग्देलले उद्योग निर्वाधरुपमा सञ्चालन गर्न सरकारले सहयोग गर्नुपर्नेमा उल्टै अवरोध सिर्जना गर्ने काम गलत भएको बताउँदै महशुल विवाद वार्ताबाट समाधान गर्नुपर्ने र उद्योग नै बन्द गर्ने काम गर्न नहुने बताए ।
आइतबारको विरोध प्रदर्शनमा उद्योगका ट्रेड युनियनका पदाधिकारी कारखानाका मजदुरहरु सहभागी थिए । सिग्देलले काटिएको बिजुली अझै जडान नभएको बताउँदै यस विषयमा प्राधिकरणको स्थानीय कार्यालयको समेत ध्यानाकर्षण गराउने काम आफूहरुले गरेको बताए । लोडसेडिङ कालमा विद्युत उपयोग गरेवापत प्रिमियम महशुल तिर्नुपर्ने भन्दै प्राधिकरणले रिलाइन्ससहित अरु तीन उद्योगमा लाइन काटेको थियो भने आइतबार थप दुई उद्योगमा लाइन काटेको थियो ।
प्राधिकरणले ६१ वटा उद्योगले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपयोग गरेवापत प्रिमियम महशुल तिर्नुपर्ने अडान राख्दै आएको छ । उसले ती उद्योगहरुको नाममा बिल नै नपठाई बक्यौता सिर्जना गरिदिएको छ । यस्तो बक्यौता अहिले जरिवानासहित बढेर २७ अर्बभन्दा बढी भइसकेको प्राधिकरणको भनाई छ । यता उद्योगीहरुले भने बिना कानुनी आधार र टीओडी मिटरको डाटाबिना आफूहरुसँग प्रिमियम महशुल माग गर्ने काम भएको बताउँदै यो विवादित महशुल तिर्न आफूहरु बाध्य नरहेको बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नै लाइन काटेर भए पनि बक्यौता अशुल गर्न निर्देशन दिएपछि प्राधिकरणले लाइन काट्न थालेको हो । उद्योगमा लाइन काट्न थालेपछि सम्वन्धित उद्योगमा कार्यरत कर्मचारी तथा मजदुरहरु पनि आक्रोसित भई सडकमा निस्किन थालेका छन् ।