पशुपति हिन्दु विश्वविद्यालय स्थापनाको गति बढाउन मन्त्री किरातीको निर्देशन

Advertisement

काठमाण्डौं । पशुपति हिन्दु विश्वविद्यालय स्थापनाको गति द्रुत बनाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा पुशुपति क्षेत्र विकास कोषका अध्यक्ष सुदन किरातीले निर्देशन दिएका छन् । 

विश्व विद्यालय स्थापनका लागि डा. जगमान गुरुङको संयोजकत्वमा रहेको समितिको बैठकमा आज  मन्त्री किरातीले यस्तो निर्देशन दिएका हुन् । गत चैत्रमा गठित समितिको हालसम्मको प्रगति विवरण माग्दै मन्त्री किरातीले आफुले मन्त्रालयस्तरबाट गर्नु पर्ने समन्वय र पहलबारे सुझाउन समेत समितिलाई आग्रह गरे ।  

Advertisement

समितिका सदस्यले हाल अध्ययन, अनुसन्धानसंगै मस्यौदाको चरणमा रहेको जानकारी दिए । पशुपति क्षेत्र विकास कोषका पूर्वकार्यकारी निर्देशक समेत रहेका समितिका सदस्य सचिव डा. घनश्याम खतिवडाले सरकारको सैद्धान्तिक निर्णयसंगै परिषदबाट हुने नीतिगत निर्णय सहज भएमा विश्व विद्यालय स्थापनाले गति लिने बताए । यो विश्व विद्यालयले विशेष गरी अध्ययन अनुसन्धानलाई प्रथामिकता दिने गरी प्रारम्भिक रुपरेखा बनिरहेको बताए । 

यस विश्वविद्यालयमा नेपालका सबै धर्मशास्त्रहरुको अध्ययन अनुसन्धान गराइने समितिका सदस्य चेतनाथ गौतमले बताए । ​समितिका सदस्य कमल ढकालले विश्व विद्यालय गुठी अवधारणामा चल्ने, कुनै पनि विश्व विद्यालयलाई यसले सम्बन्धन नदिने, निश्चित प्रक्रिया पूरा गरेपछि स्नातक उत्तीर्ण गरेका विद्यार्थीलाई भर्ना गर्ने बताए ।

यस अवधारणाले नेपाल, पशुपति र हिन्दुहरुको गौरवको विषय भएकोले कुनै प्रकारको ढिला सुस्ति नगर्न क्षेत्र विकास कोषलाई मन्त्री किरातीले निर्देशन दिए । 

Advertisement

Advertisement