काठमाडौं । वायुसेवा सञ्चालकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतीको काम तोकिएको समयमा नसकिए आफूहरु घाटामा जाने चिन्ता व्यक्ति गरेका छन् ।
नेपाल वायुसेवा सञ्चालक संघले बुधबार विज्ञप्ति निकालेर नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले धावनमार्ग तथा समानन्तर ट्याक्सी–वे बीचको लिङ्करोड निर्माण कार्य तोकिएको समयभित्र सम्पन्न नभए कम्पनीहरु पूर्णरुपमा घाटामा जाने बताएका हुन् ।
स्तरोन्नतीको काम तोकिएको समयमा सम्पन्न नभएको खण्डमा वायुसेवा कम्पनीहरु अत्याधिक आर्थिक घाटामा गई कम्पनी नै बन्द गर्नुपर्ने अवस्था सिर्जना हुने भन्दै संघले तोकिएको समयमा काम सम्पन्न हुनुपर्ने कुरामा जोड दिएका छन् । निर्माण कार्य समयमा सम्पन्न नहुने हो कि ? भन्ने उनीहरुको आशंका देखिन्छ । नेपालमा प्रायः अधिकांश निर्माण कार्यहरु तोकिएको समय र लागतमा सम्पन्न नगर्ने र त्यसमा निकै ठूलो भ्रष्टाचार गर्ने प्रवृत्ति रहेको छ ।
सन् २०२५ को वसन्त ऋतुसम्म पनि निर्माण कार्य सम्पन्न नभएको खण्डमा संघका सदस्य वायुसेवा कम्पनीहरु अत्याधिक आर्थिक घाटामा गई कम्पनी नै बन्द गर्नुपर्ने अवस्था आउने भन्दै संघले सरोकारवाला निकायले चनाखो भई काम तदारुक्ताका साथ गरिदिनुपर्ने बताएको छ ।
क्यानले यही कार्तिक २३ देखि करिव ५ महिना त्रिभुवन विमानस्थलको उडान समय घटाई बेलुका १० बजेदेखि विहान ८ बजेसम्म बन्द गर्ने ‘नोटिस टु एयर म्यानु (नोटाम)’ जारी गरेको छ । सोअनुसार राष्ट्रिय अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान तालिका घटाएका छन् । यसबाट धेरै प्रभावित हुनेमा अन्तर्राष्ट्रिय उडान गर्ने नेपालका वायुसेवा कम्पनीहरु नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स छन् ।
विमानस्थल सञ्चालनको समय घटाउँदा आफूहरुको करिव ३० प्रतिशत उडान समेत कटौती हुने भएता पनि विमानस्थलको विस्तार तथा पूर्वाधार निर्माणको विषयमा आफूहरु सकारात्मक बनेको संघको भनाई छ । यस्तो कुरामा आफूहर सदैव सकारात्मक रहेको संघले विज्ञप्तिमा उल्लेख गरेको छ । पूर्वाधार निर्माण पश्चात राष्ट्रिय अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुको जहाज बाउजाउ तथा ट्राफिकमा समेत दिर्घकालिन रुपमा सहज, सरल तथा सुविधा हुने विश्वास लिइएको छ ।
विमानस्थल स्तोरोन्नतीको काम जाडो महिनामा हुने भएकोले अधिकांश विमानस्थलहरुमा हुस्सु तथा कम भिजिविलिटिका कारण नियमित उडान प्रभावित हुने, रात्री उडान हुने विमानस्थलहरुमा उडान भएता पनि १० बजेभित्र सम्पन्न गरिसक्नुपर्ने, वायुसेवा कम्पनीहरुका चेक इन काउण्टर उडान समय भन्दा करिव १५ मिनेट अगाडि नै बन्द हुने भएकोले यात्रुहरुले वायुसेवा कम्पनीहरुले जारी गरेको टिकटमा उल्लेखित समयमा नै चेक इन काउण्टरमा रिपोर्टिङ गर्नुपर्ने पनि संघले बताएको छ ।
हेलिकप्टरहरुले भीएफआर उडानअन्तर्गत नलिञ्चोक हेलिप्याडबाट सूर्यदयदेखि सूर्यास्तसम्म नै उडान तथा अवतरण हुने र त्रिभुवन विमानस्थलबाट विहान ८ बजेदेखि उडान तथा अवतरण हुने भएकोले सम्बन्धित सरोकारबाला सबैलाई सोही अनुसार गर्न पनि आग्रह गरिएको छ ।