नीति तथा कार्यक्रम प्रस्तुत गरेजस्तो प्रमको राष्ट्रका नाममा सम्बोधन, कार्यशैली अब बदल्ने

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार गठनको एक बर्ष पूरा भएको सन्दर्भमा राष्ट्रका नाममा मंगलबार लामो सम्बोधन गरेका छन् । 

सरकारका कामकारवाहीबाट जनतामा बढ्दै गएको निराशालाई उनले नियोजितरुपमा जनतामा निराशा जगाउन खोजिएको भन्दै उनले आफ्नो प्रतिरक्षामा लामो समय खर्च गरे । 

Advertisement

नीति तथा कार्यक्रम र बजेट भाषण जस्तो दाहालको आजको सम्बोधनमा बढी कुण्ठा, आक्रोस, आशंका र दम्भ देखिन्थ्यो । उनले सरकारको काममा आफ्नो हुटहुटी रहेको बताउँदै केही भएन र हुँदैन भन्ने निराशाको भावना विकास गर्ने काम भएको जिकिर गरे । 

दाहालले विगत एक वर्षमा सरकारको कामले आफ्नो हुटहुटी अनुसारको परिणाम नआएको भने आंशिकरुपमा स्वीकार गरे । यद्यपि सरकार असफल भने नभएको जिकिर गरे । 

अबका दिनमा सरकारको कार्यशैली बदलिने दाहालले बताए । उनले आगामी दिनमा आफू पूर्व निर्धारित र अपरिहार्य बाहेकका कुनै पनि बाहिरी कार्यक्रममा नजाने बताउँदै बाहिर नगई नयाँ नीति, कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेको समस्या समाधान गर्न लाग्ने बताए । 

सम्बोधनका क्रममा दाहालले भने, ‘राष्ट्रिय गौरव र रुपान्तरणकारी आयोजनाहरु अब एआई जडित ड्रोन प्रविधिबाट नियमित अनुगमन गर्ने प्रणाली जडान गरिदैछ । प्रधानमन्त्री कार्यालयमा रहेको एक्शन रुमबाट यस्ता आयोजनाहरुको नियमित अनुगमन गर्न मैले शुरु गरिसकेको छु । आज म देशबासीमा स्वीकार गर्दछु कि सरकार असफल त भएन । तर मेरो आफ्नै हुटहुटी अनुसारको परिणाम पनि आएको छैन । म बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा छु ।’ 

उनले भने, ‘देश कति बन्यो होइन, कति बन्न सक्थ्यो भन्ने आत्मसमिक्षामा छु । यही चिन्ता र आत्मसमिक्षाका साथ म सार्वजनिक घोषणा गर्दछु, अब सरकारको कार्यशैली बदलिने छ । केही पूर्वनिर्धारित र अपरिहार्य बाहेक म बाहिरका कुनै कार्यक्रममा नगइ नयाँ निति, कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेको समस्या समाधान गर्न लाग्ने निष्कर्षमा छु । सरकारको कार्यशैली बदल्न यो एउटा प्रस्थान बिन्दु हुनेछ । यही साता म प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्दैछु । सिंगो राज्यका लागि यो संकेत र सन्देश हुनेछ ।’

यही साताभित्रमा प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्ने, अब विश्वविद्यालयहरुमा राजनीतिक भागबन्डा नहुने भन्दै उनले संसारको कुनै पनि कुनामा रहेका योग्य नेपालीले विश्वविद्यालय सुधारको प्रष्ट र इमान्दार खाका सहित उपकुलपतिमा दाबी गर्नसक्ने जिकिर गरे । 

अब मेरिटोक्रेसी शुरु हुने र त्यसको प्रस्थान बिन्दु त्रिभुवन विश्वविद्यालय हुने उनको भनाई छ । दाहालले शिक्षामा गुणस्तरीय र प्रतिष्पर्धी जनशक्ति देशभित्रै उत्पादन गर्न सरकारले बहुआयामिक कदम चाल्ने बताए । 

उनले भने, ‘अब विश्वविद्यालयहरुमा राजनीतिक भागबन्डा हुने छैन । संसारको कुनैपनि कुनामा रहेका योग्य नेपालीले विश्वविद्यालय सुधारको प्रष्ट र इमान्दार खाकासहित उपकुलपतिमा दाबी गर्न सक्नेछन् । अब मेरिटोक्रेसी शुरु हुनेछ । त्रिभुवन विश्वविद्यालय त्यसको प्रस्थान बिन्दु बन्दैछ । नेपालका विश्वविद्यालयहरु रित्तिदै जाने, युवा शक्तिसँगै पूँजि पनि पलायन हुने डरलाग्दो अवस्था अन्त्य गर्न तथा शिक्षामा गुणस्तरीय र प्रतिष्पर्धी जनशक्ति देशभित्रै उत्पादन गर्न बहुआयामिक कदम चालिँदैछ । विद्यालय शिक्षालाई प्रभावकारी बनाउन अति जरुरी शिक्षा विधेयक मैले संसदमा पेश गरेँ । कमी, कमजोरी सच्याइ पारित गर्न प्रतिवद्ध छु । विद्यालयलाई राजनीतिक क्रिडास्थल बनाउन हुँदैन भन्ने हाम्रो निष्कर्ष छ । यसमा म आम शिक्षक, राजनीतिक दल, र अन्य सरोकारवालाको साथ चाहन्छु ।’

Advertisement

Advertisement