ठूला परियोजना तोकिएकै समयमा सम्पन्न गर्नसके आर्थिक विकासको ढोका खुल्छः प्रधानमन्त्री

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला पूर्वाधार आयोजना निर्माणको काम सरकारको प्राथमिकतामा रहेको बताएका छन् । नेपाल इन्जिनियर्स एशोसियशनको १६औँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन सत्रमा बोल्दै उनले आधुनिक विकासको मुख्य प्राथमिकता पूर्वाधार क्षेत्रमा हुनुपर्ने बताए । 

प्रधानमन्त्री दाहालले सडक, लोकमार्ग, ऊर्जा, विद्युत्, सञ्चार, विमानस्थल, सिँचाइ, खानेपानी तथा ढल निकासका ठूला परियोजना गुणस्तरीय निर्माणद्वारा तोकिएकै समयमा सम्पन्न गर्नसके मात्र आर्थिक विकासको ढोका खुल्ने बताए । पूर्वाधार निर्माणका काममा सुस्तता हुँदा मुलुकको समग्र विकास र आर्थिक समृद्धिको काम पनि सुस्ताउने भएकाले समयमै काम सकेर लाभ लिने गरी ठूला आयोजना निर्माण गरिनुपर्नेमा उनले जोड दिए ।  

Advertisement

दश हजार आठ सय मेगावाट विद्युत् उत्पादन क्षमताको कर्णाली चिसापानी, चार सय केभी क्षमताका प्रशारण निर्माणलाई सरकारले महत्वका साथ अघि बढाइरहेको प्रधानमन्त्री दाहालको भनाइ छ । विकास निर्माणका काममा अहिले देखिएका विभिन्न खालका कठिनाइलाई चिर्दै अब्बल व्यवस्थापकीय ढङ्गबाट आफ्नो ज्ञान र सीपको सदुपयोग गरेर समयमै परिणाम निकाल्न सकिएमा मात्र जनताको मुहारमा खुसी ल्याउन सकिने उनले बताए । इन्जिनियर्सको क्षमता अभिवृद्धि, पेसागत विकास तथा उन्नयनका लागि इन्जिनियर्स स्टाफ कलेज स्थापना गर्ने विषयमा सरकार सकारात्मक रहेको प्रधानमन्त्री दाहालले बताए ।  

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विकास निर्माणका काममा सबै पक्ष र सरोकारवाला जिम्मेवार भएर लाग्नुपर्ने बताए । 

नेपाल इन्जिनियर्स एशोसियशनका अध्यक्ष डा हरिबहादुर दर्लामीले राष्ट्रिय समृद्धिको लक्ष्यलाई साकार पार्न इन्जिनियर्सको ज्ञान र सीपलाई भरपुर प्रयोग गर्न सक्नुपर्ने बताए । 

Advertisement

Advertisement