मेरो भारत भ्रमण उपलब्धीमूलक रह्योः उर्जामन्त्री

Advertisement

काठमाडौं । नयाँ दिल्लीमा आयोजित अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग लिएर बुधबार फकिृएका उर्जामन्त्री दीपक खड्काले आफ्नो भारत भ्रमण उपलब्धीमूलक रहेको दावी गरेका छन् । 

त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पञ्चेश्वर, अरुणलगायतका आयोजनालाई चाँडै अगाडि बढाउने विषयमा भारतसँग सकारात्मक छलफल भएको बताउँदै भ्रमण सफल भएको औंल्याएका हुन् । 

Advertisement

खड्काले भने, ‘नेपाल–भारतबीचमा आयोजना अगाडि बढाउने विषयमा रहेका असहमतिलाई एक आपसमा समन्वय गरी तत्काल अगाडि बढाउने विषयमा दुई देशबीच सहमति भएको छ ।’ भारतले नेपालको विषयमा धेरै चासो र चिन्ता लिएको पाएको उनले बताए । 

मन्त्री खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यलाई कसरी परिपूर्ति गर्ने भनेर भारतका ठूला व्यवसायी र संस्थाहरुसँग छलफल गरेको बताए । उनले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनका क्रममा नेपालको सौर्य उर्जाको विकासमा आईएसएले सहयोग गर्ने प्रतिवद्धता जनाएको बताए । 

भ्रमणका क्रममा आफूले भारतका जलशक्ति मन्त्री सीआर पाटिल, सौर्य गठबन्धनका अध्यक्ष एवं भारतका नवीन एवं नवीकरणीय उर्जामन्त्री प्रल्हाद वेंकटेश जोशी र विद्युतमन्त्री मनोहरलाल खट्टरसँग छुट्टाछुट्टै भेट गरेको उनले बताए । खड्काले भारतका उर्जामन्त्रीले नेपालमा आउने प्रतिवद्धता व्यक्त गरेको बताए । 

मन्त्री खड्काले जलविद्युतमा लगानी र काम गर्ने वातावरण बनाउन थप आवश्यकता रहेको बताए । उनले काम गर्ने वातावरण भए नेपालमा भारतका धेरै कम्पनीहरु नेपालको जलविद्युतका काम गर्न उत्साहित देखिएको बताए । 

Advertisement

Advertisement