भोजपुर । नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्माले सरकारले चाहे एक हप्तामै सरकारी तथा निजी अस्पतालबाट स्वास्थ्य बीमा गरेका बिमितले उपचार पाउनसक्ने बताएका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति भोजपुरले आयोजना गरेको भेटघाट कार्यक्रममा सांसद शर्माले यस्तो बताएका हुन् । उनले राज्य जनताको स्वास्थ्य र शिक्षामा नभई कमिसन धन्दामा लागेको, सरकार जनताको उपचारमा भन्दा कमिसनको खेलमा ठूलाठूला ठेक्का निकाल्ने र ठेक्का कसरी आफू निकटका ठेकेदारलाई पार्ने भन्ने धन्दामा लागेको आरोप लगाए ।
‘मुलुकभर सरकारी होस या निजी, हरेक अस्पतालमा विमितहरुले उपचार पाउने गरी उपचार सम्भव छ । यो काम एक हप्ताभित्र गर्न सम्भव छ । तर राज्यले गर्दैन । ठूलाठूला डिल कसरी गर्ने ? टेन्डर खोल्दा आफूले भनेका कम्पनीहरुलाई कसरी पार्ने ? कति अर्बको टेण्डर आफ्नो पालामा खोलिसक्ने ? माथिदेखि तलसम्म नेताहरुको सेटिङ मिलाएर पैसा कसरी खाने यत्ति चिन्ता छ,’ उनले आरोप लगाउँदै भने, ‘अहिले नेपालका शीर्ष नेता मात्रै होइन, कर्मचारी पनि करका हाकिम, अख्तियारका हाकिम, राष्ट्र बैंकका गभर्नरदेखि लिएर अन्य मानिसहरुको अर्बौंको सम्पत्ति विदेशमा छ । दुबईमा कति नेपालीका बंगला छन् । हामीले यहाँ गाउँमा एउटा झोलुंगे पुल बनाउन वर्षौंसम्म संघर्ष गर्नुपर्छ, एउटा कुलो बनाउन वर्षौंसम्म संघर्ष गर्नुपर्छ ।’