काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को महाप्रवन्धक नियुक्ति गलत प्रक्रियाबाट भएको भन्दै असन्तुष्ट पक्षले विरोध जनाएको छ । असन्तुष्ट पक्षका नवराज कोइरालाले बुधवार पत्रकार सम्मेलन गर्दै नियुक्ति प्रक्रियाको विरोध गरेका हुन् ।
कोइराला पनि सो यो नियुक्त प्रक्रियामा प्रतिष्पर्धी थिए । महाप्रवन्धक नियुक्ति गर्दा ‘कन्फ्लिक्ट अफ इस्ट्रेस्ट’ (स्वार्थ बाझिने किसिमबाट) देखिएको कोइरालाले बताए । महाप्रवन्धक छनोट समितिमा क्यानका अध्यक्ष चन्द, सचिव पारस खड्का, कोषाध्यक्ष पदम खड्का तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेल थिए ।
उक्त नियुक्ति ७२ घण्टाभित्र नसच्याए क्यान र क्यान सचिव पारस खड्काबिरुद्ध सर्वोच्च अदालत जाने उनले चेतावनी दिए । कोइरालाले बलियो नेपालमा रहेका सदस्यले नै नियक्ति पाउँदा उनलाई छनोट गर्ने व्यक्तिमध्ये दुई जना नै सोही संस्थाको सदस्य रहेको सार्वजनिक गरे ।
क्यानका सचिव पारस खड्का, पोखरेल दुवै बलियो नेपालको संस्थापक रहेको र त्यही संस्थामा आवद्ध व्यक्तिलाई नै महाप्रवन्धकका लागि छनोट गरिएको भन्दै उनले आपत्ति जनाए । क्यानले सोमवार उत्सव ढुंगानालाई महाप्रवन्धकमा नियुक्त गरेको थियो । बलियो नेपालको सहकार्यमा पारसले नै बलियो कप क्रिकेट गर्दैै आएका थिए ।
कोइरालाले महाप्रवन्धक छनोट प्रक्रिया नै शंकास्पद रहेको बताए । असन्तुष्ट कोइरालाले शनिवारको दिन सरकारी संस्था क्यानको महाप्रवन्धक पदको अन्तर्वार्ता लाजिम्पटको होटलमा किन ? क्यानको कार्यालय छैन ? कार्यालय खुल्ने दिन किन नलिएको ? लगायत प्रश्न गरेका छन् । उनले महाप्रवन्धका लागि लिखितमा सोधेको प्रश्नको स्तर सामान्य कर्मचारीलाई सोधे जस्तो र जुन प्रश्नबाट महाप्रवन्धक कसरी छनोट हुन्छ ? भन्दै कोइरालाले प्रतिप्रश्न गरे ।
कुल ६१ आवेदनबाट सर्ट लिस्ट गरी अन्तर्वार्ता लिएर क्यानले ढुंगानालाई नियुक्त गरेको थियो । छ महिनाअघि वृतान्त खनालले राजीनामा दिएपछि सो पद रिक्त रहँदै आएको थियो । तर, नियुक्ति भएपछि पनि विवादमा परेको छ ।