रास्वपाका साँसदहरुले भने– सवारी दुर्घटनाहरुमा हुने मानवीय क्षतिको जिम्मेवार सरकार हो

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सवारी दुर्घटना न्युनीकरणका उपाय अवलम्वन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । मंगलवार भौतिक पूर्वाधार तथा यातायातामन्त्री प्रकाश ज्वालालाई भेटेर यस पार्टीका सांसद तथा नेताहरुले सवारी दुर्घटना न्युनीकरणका उपाय अवलम्वन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । 

उनीहरुले ज्ञापन पत्र बुझाउँदै पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले दुर्घटनाबाट हुने मानवीय क्षति सरकारलाई सामान्य लाग्न थालिसकेको हो ? भन्दै मन्त्री ज्वालासँग प्रश्न गरिन् । उनले यस वर्षको मंसिर महिनासम्म देशभर साना ठूला गरेर करिव १० हजार ७४५ दुर्घटना भएको प्रहरीको तथ्यांक रहेको बताइन् । 

Advertisement

श्रेष्ठले यी दुर्घटनामा ९१६ जनाले ज्यान गुमाएका र दुई हजार ७९१ जना गम्भीर र ११ हजार ९१ जना सामान्य घाइते भएका प्रहरीको तथ्यांक रहेको बताउँदै नेपाल प्रहरीकाअनुसार दैनिक ५४ वटा दुर्घटना र त्यसमा ६ जनाको मृत्यु हुने गरेको तथ्यांक आफूले पाएको बताइन् । 

श्रेष्ठले भनिन्, ‘नियमित जस्तो सवारी दुर्घटना भइरहन्छन् । हामीलाई कताकता दुर्घटनाबाट हुने मानवीय क्षति सामान्य लाग्न थालिसकेको पो हो कि ?’ कमजोर र असुरक्षित सडक पूर्वाधारका कारण हुने सवारी दुर्घटनाको जिम्मेवार राज्य हुनुपर्ने उनको आशय थियो । 

ज्ञापनपत्र बुझ्दै मन्त्री ज्वालाले सवारी दुर्घटनाको विषयलाई लिएर सरकार गम्भीर रहेको जवाफ दिए । उनले सरकारले समस्याको समाधान गर्नेगरी काम गरिरहेको जिकिर गर्दै घटना भइसकेपछि त्यसलाई बेवास्ता गरेर सरकार जान नसक्ने बताए । 

ज्वालाले सडकलाई खाल्डाखुल्डीरहीत बनाएर, सडक सुधारका कामलाई तीब्रता दिएर र सवारीसाधन परीक्षणका कामलाई अझै व्यवस्थित गर्ने तथा चालकलाई प्रशिक्षण दिने काम गरेर पनि सवारी साधन दुर्घटनाको समस्या समाधान गर्ने पहल गरिरहेको बताए । 

Advertisement

Advertisement