काम्लो बेचेर घर खर्च

Advertisement

गलकोट । पश्चिम बागलुङमा काम्लोको अझै कारोबार हुँदै आएको छ । काम्लोका भारी पिठ्युँमा बोकेर बुर्तिवाङ बजार बिक्रीका लागि आएकी विनमाया पुन जाडो याममा काम्लोको व्यापारका लागि विभिन्न स्थान पुग्छिन् । पूर्वी रुकुमको लुकुम गाउँबाट आएकी विनमायाले गर्मी याममा बनाएका काम्लो बिक्री गर्न जाडो याममा बजार खोज्दै हिँड्छिन् । 

‘पहिलाजस्तो बजार त छैन । तर काम्लोको महत्व बुझेकाले मात्रै खरिद गर्छन । अन्यले महँगो भएको प्रतिक्रिया दिन्छन्,’ उनी भन्छिन्, ‘घरमा बसिबियालो हुन्छ, काम गरिरहेको बानी नगरी बस्न सकिँदैन । भेडा पालिएकै हुन्छ, तिनै भेडाको ऊनलाई काम्लो बनाएर बिक्री गर्दा कम्तीमा घरखर्च चल्छ ।’

Advertisement

लुकुम गाउँबाट काम्लो बिक्री गर्नकै लागि विनमाया बर्सेनि छिमेकी जिल्लाको बुर्तिवाङ बजारमा झर्छिन् । उनले काम्लोको महत्व घट्दा मूल्य भने ओरालो लागेको बताइन् । ‘काम्लो कम बन्न थालेको छ । ऊनलाई प्रशोधन गर्न धेरै मेहनत गर्नुपर्दछ । तर काम्लो र घुमले पानीसमेत छेक्ने गरेको छ । बर्खामा घुम उडेर काम गर्न पनि सकिन्छ । काम्लोलाई सिलाएर घुम बनाउँदा जाडोमा निकै तातो हुन्छ,’ उनले भनिन्, ‘एउटा काम्लो २५ सयमा बिक्री गर्दै आएकी छु, जुन मूल्य सामान्य ज्याला मात्रै हो नाफा छैन ।’

काम्लोको भारी बोक्दै बुर्तिवाङ बजारमा हिँडेकी पुनले बागलुङ बजारबाट अवलोकन भ्रमणका लागि बुर्तिवाङ पुगेका ग्राहकको मन जितिन् । काम्लोको महत्व बुझ्नुभएको बागलुङ नगरपालिका–१० भकुण्डेका उदित थापाले उनकै मूल्यमा काम्लो किने । थापाले काम्लो वर्षौं टिक्ने र तातोसमेत हुने भएकाले खरिद गरेको बताए । ‘२५ सयमा प्लास्टिकका पाँच वटा गुन्द्री आउलान् । तर त्यसले कुनै अर्थ राख्दैन,’ थापाले भने, ‘पहिले पाँच रुपियाँ पर्छ भन्ने सुनेको थिएँ । अहिले सस्तो लागेर किनेको हुँ । मैले किनेको देखेपछि ताराखोला गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले समेत काम्लो किन्नुभयो ।’

ताराखोला गाउँपालिका उपाध्यक्ष भीमबहादुर रोका बुर्तिवाङ बजारमा गएको समयमा विनमाया पुनसँगै दुई हजार पाँच सयमा काम्लो खरिद गरे । उनले काम्लोलाई लगेर घुम बनाएर ओढ्ने जनाउँदै आफूलाई ऊनको काम्लोको निकै महत्व लाग्ने गरेको बताए । ‘पाँच हजारसम्म पर्छ एउटा घुमलाई । तर यहाँ २५ सयमा पाइयो । काम्लोलाई घुम बनाउन सजिलै सकिन्छ त्यसैले खरिद गर्ने रहर जाग्यो,’ रोकाले भने, ‘ऊनबाट प्रशोधन गरिएको काम्लोको महत्वप्रति थोरै मानिस मात्रै जानकार छन् । पुख्र्यौली हस्तकलालाई प्रोत्साहनसमेत गर्न आवश्यक छ ।’ 

भेडाको ऊनलाई प्रशोधन गरी तानमा बुनेर बनाइएको काम्लो धेरैका लागि रुचिकर कपडा लाग्न सक्छ । पछिल्लो पुस्ताले भेडाको ऊनबाट बनेको काम्लो र घुम देख्नै पाएका छैनन् । आधुनिकतासँगै तयारी पोसाक कपडाको प्रयोगले हातले निर्माण गरिएको काम्लो प्रयोग गर्नेको संख्या घटिरहेको छ । नेपालको उच्च पहाडी तथा पहाडी क्षेत्रमा पालिने भेडाको ऊनलाई प्रशोधन गरी काम्लो, बख्खु र हडौला बनाइन्छ ।    
 

Advertisement

Advertisement