वन्यजन्तु पीडितले क्षतिबापतको राहत पाएनन्

Advertisement

गुल्मी । गुल्मीका किसानले  वन्यजन्तुले खाद्यान्न बाली तथा घरपालुवा पशुमा क्षति पुर्यायाबापतको राहत रकम  गत दुई वर्षदेखि पाउन सकेका छैनन् । वन्यजन्तुबाट हुने क्षतिबापतको राहत सहयोगसम्बन्धी निर्देशिकामा वन्यजन्तुको आक्रमणबाट हुने अंगभंग एवं मानवीय क्षति, पशुधन, घर÷गोठ र खाद्यान्न बालीको क्षतिको राहत रकम उपलब्ध गराउने व्यवस्था गरेको छ । पीडित परिवारले राहतका लागि डिभिजन वन कार्यालयमा निवेदन दिँदै आएका छन् । 

दुई वर्ष बित्न लाग्दा पनि आफूले अझै वन्यजन्तुबाट भएको क्षतिको राहत रकम कार्यालयबाट पाउन नसकेको छत्रकोट गाउँपालिका–४ का विष्णुप्रसाद पन्थले बताए । उनीजस्तै  रेसुंगा नगरपालिका–३ की चित्रकला थापाको समस्या पनि उस्तै छ । ‘बाघले बाख्रा खाइदिएपछि राहत मिल्छ भनेर वन कार्यालयमा निवेदन दिएको पनि धेरै समय भयो, अझैसम्म राहत पाएको छैन,’ उनले भनिन् ।

Advertisement

प्रदेश वन निर्देशनालयमार्फत डिभिजन वन कार्यालयले भुक्तानी दिने भनी सरकारले निर्णय गरिसकेको छ । तर निर्णय गरे पनि हालसम्म राहत रकमसम्बन्धी बजेट डिभिजन वन कार्यालय गुल्मीमा निकासा भएको छैन । चालू आर्थिक वर्षको असार महिनापछि कार्यविधि परिवर्तन भए पनि असार मसान्तभन्दा अघिसम्म बाँके राष्ट्रिय निकुञ्जबाट राहत रकम उपलब्ध गराउँदै आइरहेको थियो । निर्देशिका परिवर्तन भएपछि प्रदेशले जिल्लामा रकम पठाउने भने पनि हालसम्म उक्त रकम अझै डिभिजन वन कार्यालयमा आएको छैन । 

असार मसान्तअघि पेश भएका निवेदनको रकम जिल्लामा नआएको हुँदा भुक्तानीका लगि बाँके राष्ट्रिय निकुञ्जमा फाइल पठाएको जिल्ला वन अधिकृत पङ्कजकुमार ठाकुरले जानकारी दिए । ‘हामीले जिल्लामा आएका भुक्तानी हुन बाँकी सबै फाइल राष्ट्रिय निकुञ्जमा पठाइसकेका छौं,’ त्यहीबाट पीडितको खातामा रकम जान्छ,’ उनले भने । 

आव २०७९÷०८० मा जिल्लामा वन्यजन्तुको आक्रमणबाट ६८  पशुधन र ११ जनाको अन्नबालीमा क्षति पुगेको डिभिजन वन कार्यालयले जनाएको छ । वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिकाबमोजिम मानवीय क्षतिमा २० हजारदेखि अधिकतम १० लाख, पशुधनको क्षतिमा रु १० हजारदेखि ३० हजार रुपियाँ र खाद्यान्न बालीको क्षतिका लागि रु १० हजारसम्म उपलब्ध गराउने व्यवस्था गरिएको छ । 
 

Advertisement

Advertisement