काठमाडौं । लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले रु. १०० अंकित दरका १४,००,००० कित्ताले हुन आउने रकम रु. १४,००,००,०००/- (अक्षरुपी चौध करोड मात्र) बराबरको साधारण शेयरमा अंकित मूल्यमा प्रिमियम रकम थप गरी आईपीओ जारी गर्न लागेको हो ।
यसैक्रममा कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । उक्त सम्झौतामा लक्ष्मी टेक्नो प्लाष्टका प्रबन्ध निर्देशक अंजनी नन्दन मारु र नेपाल एसबिआई मर्चेण्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
लक्ष्मी टेक्नो प्लास्ट वि.सं २०७२ असोज १८ गते प्राइभेट कम्पनी लिमिटेडको रुपमा स्थापित भई कम्पनी ऐन, २०६३ बमोजिम पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो ।
उक्त कम्पनी प्लास्टिकजन्य सामग्री जस्तै सिपिभिसि/पिभिसि पाइप्स तथा फिटिङ्गस्, प्लास्टिक फर्निचरहरु, प्लास्टिकको पानी ट्याङ्की, औद्योगिक तथा घरायसी प्रयोजनका प्लाष्टिकका बाल्टिनहरु, प्लास्टिक जन्य घरेलु उत्पादनहरू जस्तै डस्टबिन, एयर टाइट जार, साबुन बार बक्स, फ्रिज स्ट्यान्ड, मेलामाइन टेवल वेयर (प्लाष्टिकका थाल, कचौरा, चम्चा) आदि एउटै छातामुनी उत्पादन गर्ने नेपालको पहिलो र एक मात्र उत्पादनमुलक उद्योग हो ।
यसले सीपीभीसी/पीभीसी पाइप र फिटिङ्गसका लागि मुख्यतया ओम शिवम पाइप्स एण्ड फिटिङ्स नामको तथा फर्निचर र अन्य घरेलु सामग्रीको लागि मेरिगोल्ड नामको ब्रान्डमा देशव्यापी रुपमा आधिकारिक वितरकहरू मार्फत आफ्नो उत्पादनको विक्रि वितरण गर्दै आएको सीईओ लेखनाथ पोख्रेलले जनाएका छन् ।