व्यक्तिगत प्यान लिनेको संख्या १ लाख ६१ हजार नाघ्यो, आय करबापत ४१ अर्ब राजस्व संकलन

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिने सेवाग्राहीको संख्या १ लाख ६१ हजार नाघेको छ । आन्तरिक राजस्व विभागका अनुसार असोज मसान्तसम्म कूल एक लाख ६१ हजार ७१३ जनाले व्यक्तिगत प्यान नम्बर लिएका हुन् । 

यसैगरी, समीक्षा अवधिमा व्यवसायिक फर्म, कम्पनी वा संस्थागत रुपमा स्थायी लेखा नम्बर लिनेको संख्या २९ हजार ३९६ पुगेको राजस्व विभागले जनाएको छ । समीक्षा अवधिमा छ हजार ५०१ व्यवसायिक कम्पनीहरु मूल्य अविवृद्धि कर (भ्याट) मा दर्ता भएका छन् भने तीन हजार २८७ कम्पनीहरु अन्तःशुल्कमा दर्ता भएका छन् । यसैगरी ७३७ वटा कम्पनी तथा फर्मले थ्रेसहोल्ड स्थायी लेखा नम्बर लिएको राजस्व विभागले जनाएको छ । 

Advertisement

तीन महिनामा एक हजारबढी फर्म तथा कम्पनीमा अनुगमन
चालु आर्थिक वर्षको तीन महिनामा एक हजार २५ वटा फर्म तथा कम्पनीमा अनुगमन गरेको आन्तरिक राजस्व विभागले जनाएको छ । जमध्ये अवैध मदिराजन्य व्यवसायिक फर्महरु मात्र २११ वटामा छापा मारिएको विभागले जनाएको छ । 

एक खर्ब १३ अर्ब राजस्व संकलन
समीक्षा अवधिमा आन्तरिक राजस्वतर्फ कूल एक खर्ब १३ अर्ब ८ करोड रुपियाँ राजस्व संकलन गरिएको विभागले जनाएको छ । आर्थिक वर्षको पहिलो त्रैमासका लागि कूल एक खर्ब ३४ अर्ब २५ करोड राजस्व संकलनको लक्ष्य राखिएकोमा ८४.२३ प्रतिशतको उपलब्धी हासिल गरेको हो । 

समीक्षा अवधिमा आय कर बापत ४१ अर्ब एक करोड २१ लाख रुपियाँ संकलन भएको छ भने भ्याटमार्फत ३१ अर्ब ४१ करोड ६७ लाख रुपियाँ संकलन भएको राजस्व विभागले जनाएको छ । सोही अवधिमा अन्तःशुल्कबापत २६ अर्ब १९ करोड ६३ लाख रुपियाँ संकलन हुँदा यता ब्याज कर बापत ८ अर्ब ७३ करोड २४ लाख रुपियाँ संकलन भएको विभागले जनाएको छ ।

समीक्षा अवधिमा घर बाहल कर बापत ५४ करोड १९ लाख रुपियाँ संकलन भएको समेत विभागले जनाएको छ । 

Advertisement

Advertisement