बैंक डुब्छन् वा डुब्दैनन् ? नेपालका निक्षेपकर्ता कसरी सुरक्षित छन् ? (विचार)

Advertisement

-डा. बुद्धि मल्ल 

अहिले नेपालमा केही व्यक्तिहरू फलानो बैंक डुब्छ भन्दै विभिन्न मिडियामा बोलिरहेका भेटिन्छन् भने केही बैंकिङ तथा आर्थिक क्षेत्रभन्दा बाहिरी क्षेत्रका विज्ञहरुले तथ्यभन्दा बाहिरका कुरा गरिदिनाले भ्रम पैदा हुन पुगी बैंकप्रति नकरात्मक वातावरण बन्न पुगेको छ । 

Advertisement

जसरी कुनै एक जना इन्जिनियर वा पाइलटले आफू पढे–लेखेको भयो भन्दैमा कुनै बिरामीलाई पेटको अपरेसन गर्नुपर्छ भनेर सल्लाह दिँदा गलत हुन सक्छ, त्यसरी नै एउटा क्षेत्रको विज्ञले अर्को क्षेत्रको विश्लेषण गर्दा गलत सूचना प्रवाह हुन सक्छ । मानिस सबै क्षेत्रमा विज्ञ हुँदैन र यो विज्ञ शब्दसँग एउटा ठूलो जिम्मेवारी पनि जोडिएको हुनाले यसतर्फ सजग हुनुपर्छ ।

गत वर्ष अमेरिकाको सिलिकन भ्याली बैंक असफल भएको थियो । बैंकको असफलतापछि जे. एन्थोनी कुकसनको अनुसन्धानमा बैंक असफल हुनुमा सामाजिक सञ्जालको ठूलो भूमिका रहेको निष्कर्ष निकालेका थिए । कुकसनको अनुसन्धानमा त्यतिबेला मानिसहरुले सिलिकन डुब्न लाग्यो भन्दै ट्विटर, फेसबुकजस्ता विभिन्न सामाजिक सञ्जालमा पोस्ट गरेका कारण बैंकले निक्षेपकर्ताको विश्वास गुमाएको बताएका छन् ।

के बैंक डुब्छ त ?

यसमा कुनै दुईमत छैन कि, बैंक पनि डुब्न सक्छ । बैंक डुब्दैन भन्न मिल्दैन र संसारमा विभिन्न समयमा विभिन्न बैंक डुबेका उदाहरण पाउन सकिन्छ । मानिस पनि मर्छ । तर, अहिल्यै वा केही समयमा मर्छ भनेर ठोकुवा गर्नका लागि या कुनै ठुलो दुर्घटना हुनुपर्छ या कुनै रोग लागेको जानकारी हुनुपर्छ । त्यसैगरी बैंक डुबिहाल्छ भन्नका लागि पनि त्यस्तै विशेष कारणका बारेमा जानकारी हुनुपर्छ र बैंकको बिरामीको जानकारी राखिराख्ने डाक्टर भनेको नेपाल राष्ट्र बैंक हो, जसले नियमित रुपमा बैंकहरुलाई जाँचिरहेको हुन्छ ।

यदि कुनै बैंक समस्यामा पर्न लागेको छ भन्ने नेपाल राष्ट्र बैंकलाई लाग्यो भने त्यसलाई सुधार गर्नको लागि सचेत वा निर्देशन दिन्छ । जस्तै, कुनै बैंकले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष पुर्याउन सकेन भने भने बैंकको अवस्थालाई मध्यनजर गरेर बैंकलाई शीघ्र सुधारात्मक कारबाही प्रक्रिया अगाडि बढाउँछ । जसअन्तर्गत बैंकका उच्च व्यवस्थापनसँग छलफल गर्ने, पुँजीकोष पुर्याउन निर्देशन दिने, पुँजीकोष योजना माग्ने र सोहीअनुसार कार्यान्यवन भए–नभएको यकिन गर्ने, नयाँ शाखा विस्तारमा रोक लगाउने, नगद तथा बोनस शेयर वितरणमा रोक लगाउने, सम्बन्धित संस्थाको सञ्चालक तथा उच्च व्यवस्थापकको भत्ता, तलब तथा सुविधा बृद्धिमा रोक लगाउने, थप निक्षेप स्वीकार गर्न नदिने आदि गर्छ । 

त्यस्तै, नयाँ व्यावसायिक क्रियाकलापमा रोक लगाउने, कर्जा विस्तारमा रोक लगाउने, कर्मचारीको तलब बृद्धिमा रोक लगाउनेलगायतका अन्य निर्देशन दिनुका साथै नेपाल राष्ट्र बैंक आफैले बैंकको ब्यवस्थापन नियन्त्रणमा लिने आदि कदम चाल्न सक्छ भने निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा बढी भयो, शाखा विस्तारमा रोक लगाउने, नेपाल राष्ट्र बैंकबाट प्रदान गरिने सुविधा रोक्नेजस्ता कार्य गर्न सक्छ । तर, अहिले नेपालमा बैंकहरुको अवस्था बिग्रिएर ठूलो कारबाही गर्नुपर्ने अवस्था रहेको देखिँदैन । 

संसारभर बैंक डुब्नुको मुख्य कारणमा अधिक खराब कर्जा, संस्थागत सुशासनको कमी, राजनितिक हस्तक्षेप, खराब व्यवस्थापन, कर्जाका लगानीका क्षेत्रमा विविधीकरण नभई एकै क्षेत्रमा अधिक लगानी गर्नु, युद्ध तथा खराब आर्थिक वातावरण, जालसाजी आदि रहेको पाइन्छ । तर, अहिले नेपालका बैंकहरुमा यस्ता कुनै कारण रहेको पाइँदैन । किनभने नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तिय संस्थालाई एकदमै नजिकबाट नियमन र सुपरिवेक्षण गरिरहेको छ ।

के बैंक डुबेर निक्षेपकर्ताको निक्षेप डुब्छ ?

विसं १९९३ मा नेपाल बैंकको स्थापना भएदेखि ८७ वर्षको अवधिसम्म बिभिन्न बैंक तथा वित्तीय संस्थामा समस्या आएको भए तापनि अहिलेसम्म निक्षेपकर्ताको निक्षेप डुबेको छैन । ती सबै निक्षेप निक्षेपकर्तालाई फिर्ता गर्न बैंक तथा वित्तीय संस्था सफल भएका छन् । अझै अहिले नेपालका बैंक तथा वित्तीय संस्थाले ५ लाखसम्मको साना निक्षेपकर्ताको निक्षेप सुरक्षण गराएको हुनाले साना निक्षेपकर्ताको निक्षेप डुब्ने सम्भावना देखिँदैन । नेपालमा बैंकहरुले प्रायजसो चल–अचल सम्पत्ति सुरक्षण लिएर लगानी गरेकाले पनि तुलनात्मक रुपमा नेपालका बैंक सुरक्षित मानिन्छन् ।

२०८० असारसम्म नेपालमा ५ करोड ११ लाख निक्षेप खाता रहेकोमा सोमध्ये ५ करोडसम्मको ४ करोड १३ लाख साना निक्षेपकर्ताको निक्षेप खाताको निक्षेप सुरक्षण गरिएको तथ्याङ्कले देखाउँछ, जुन जम्मा निक्षेप खाताहरुको करिब ८१ प्रतिशत हो भने बाँकी रहेका १९ प्रतिशत खाता भने केही ठूला र संस्थागत निक्षेपको सुरक्षण भएको छैन । 

बैंक डुब्यो भने के हुन्छ ?

यदि बैंक डुब्यो भने सर्वप्रथम बैंकले सम्पत्ती सुरक्षण राखेर कर्जा दिएका बैंकका साहुहरुलाई भुक्तानी गर्नुपर्छ । त्यसपछि कर्मचारीहरुको तलब, त्यसपछि कर अनि त्यसपछि निक्षेपकर्ताको निक्षेप फिर्ता गर्ने दायित्व रहन्छ । निक्षेपकर्ताको निक्षेप भुक्तानी भएपछि मात्र अन्य साहु, प्रिफेरेन्स शेयर आदिको भुक्तानी गर्दै त्यसपछि भने सर्वसाधारण र संस्थापक शेयरधनीले भुक्तानी पाउँछन् । यो भुक्तानीको प्राथमिकताले पनि निक्षेपकर्तालाई सुरक्षित राख्ने प्रयास गरेको छ ।

अहिले जनवरी २०२४ को तथ्याङ्कअनुसार नेपालका बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६१३१ अर्ब, कुल कर्जा ५०८४ अर्ब रहेको छ भने शेयर पुँजीकोष ७१९ अर्ब रहेको छ, जुन निक्षेपको ११.७३ प्रतिशत रहेको देखिन्छ । 

त्यसैगरी कर्जा नोक्सानी जोखिमबापत २१८ अर्ब अर्थात् कुल कर्जाको ४.२९ प्रतिशत नोक्सानी व्यवस्था गरिसकेको अवस्था रहेको छ । यो तथ्यांकले पनि  निक्षेपकर्ताले निक्षेप धेरै हदसम्म सुरक्षित रहेको बुझ्न कठिन छैन । किनभने निक्षेपकर्ताले निक्षेप फिर्ता नपाउँदासम्म शेयरधनीले रकम फिर्ता पाउने सम्भावन रहँदैन ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले प्रत्येक वर्ष खुद मुनाफाको २० प्रतिशत रकम रिजर्भ फन्डमा अनिवार्य राख्नुपर्ने व्यवस्था गरेको छ र यस्तो रकम शेयरधनीलाई वितरण गर्न पाउँदैन । यसै व्यवस्थाले गर्दा अहिले बैंक तथा वित्तीय संस्थाको जम्मा चुक्ता पुँजी ४३६ अर्ब रहेकोमा रिजर्भ र मुनाफामा २८३ अर्ब अर्थात् चुक्ता पुँजीको  झन्डै ६५ प्रतिशत रकम भइसकेको छ जसले गर्दा पनि बैंक तथा वित्तीय संस्थालाई मजबुत बनाएको छ ।

वाणिज्य बैंकहरुको मात्र कुरा गर्ने हो भने चुक्ता पुँजी ३७८ अर्ब तथा रिजर्भ र मुनाफामा चुक्ता पुँजीको ७० प्रतिशत जति रकम २६५ अर्ब रकम रहेकोले अहिले बैंकहरुको मुनाफामा गिरावट आइरहँदा पनि पुँजी कोषकमा राम्रो रकम रहेका कारणले निक्षेपकर्ताको हकहितको संरक्षणलाई ठूलो मद्दत गरिरहेको छ ।

यसरी बैंकको आन्तरिक लेखापरीक्षक, बाह्य लेखापरीक्षक, बैंकको लेखापरीक्षण समिति, जोखिम व्यवस्थापन समिति तथा नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षणबाट बैंकको सञ्चालनलाई सूक्ष्म तरिकाले नियमन र नियन्त्रण गर्ने हुनाले नेपालमा बैंक तथा वित्तीय संस्थालाई एकदमै पारदर्शिता मानिने क्षेत्र मानिएको हो । 

नेपाल राष्ट्र बैंकको अफसाइट र अनसाइट निरीक्षणमार्फत बैंकका गतिविधि नजिकबाट नियालिरहेर ग्राहकको निक्षेपलाई सुरक्षा गर्न निर्देशनअनुसार काम भइरहेको छ कि छैन भनेर बैंकहरुलाई निर्देशन दिने र दिएको निर्देशनका लागि समेत कार्यान्यवनका लागि सचेत गराउने भएकोले नेपालका हालसम्म नेपालका बैंकहरु राम्रो कार्यसम्पाद गर्न सफल भएका छन् ।

सन् १९९७–९८ मा एसियाका बैंकहरुमा संकट आउँदा होस् वा २००७–०८ को विश्वव्यापी आर्थिक संकटमा होस् वा कोरोना माहामारीपछिको अवस्थामा होस्, नेपालका बैंकहरु यी सबै प्रतिकूल अवस्था पनि डटेरै सामना गरे र सबल पनि ठहरिए । 

सन् २००० ताका ६० प्रतिशतभन्दा बढी निष्क्रिय रहेको नेपालका सरकारी स्वामित्वका बैंकहरु नेपाल बैंक लिमिटेड र राष्ट्रिय बैंकलाई बित्तिय सुधार कार्यक्रम लागू गरेर अहिले एकदमै सबल बैंकको रुपमा आफूलाई स्थापित गरेका छन् । 

कुनै एउटा बैंक बिग्रियो भने त्यो बैंक मात्र नभई समग्र देशको अर्थतन्त्रलाई पनि नकरात्मक असर पर्ने भएकोले तथ्य नै नबुझीकन भ्रामक प्रचारप्रसार गर्नु राम्रो हुँदैन । कुनै पनि बैंकको बारेमा चित्त बुझेन भने सम्बन्धित ग्राहक गुनासो सुनुवाइ अधिकृतसमक्ष कुरा राख्न सकिन्छ भने सम्बन्धित बैँकबाट समाधान भएन वा चित्त बुझेन भने नेपाल राष्ट्र बैंकको गुनासो सुनुवाइ इकाइमा सम्पर्क गर्न सकिन्छ । तर, अनावश्यक नकरात्मक हल्लाले  अर्थतन्त्रलाई फाइदा गर्दैन । सामाजिक सञ्जालमा तथा मिडियामा राख्नुभन्दा पहिला एकपटक सोचेर, बुझेर मात्रै राखियो भने अर्थतन्त्रलाई फाइदा हुन्छ । तर, गलत सन्देश गयो भने भने ठूलो क्षति पनि हुन सक्छ ।

 -मल्ल बैंकर हुन् ।

Advertisement

Advertisement