गृह रास्वपाको 'बटमलाइन' बनेपछि अर्थमन्त्रीमा विष्णु पौडेलको सम्भावना बढ्यो

Advertisement

काठमाडौं । सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालयसहित चार मन्त्रालयमा दाबी गरेको छ । रास्वपाले गृह मन्त्रालय लिएको खण्डमा अर्थमन्त्रीमा एमालेका विष्णु पौडेल आउने सम्भावना बढेको छ । 

रास्वपाले गृहमन्त्री आफ्नो ‘बटमलाइन’ रहेको बताएको छ । यसअघि रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनिसकेका छन् । 

Advertisement

स्वपाका उपसभापति स्वर्णिम वाग्लेले आफ्नो दलले सरकारमा सहभागिताका लागि गृह मन्त्रालयलाई बटमलाइन बनाएको प्रस्ट पारेका छन् । ‘यत्रो जोखिम मोलेर पुराना दलसँग सहकार्य गरिरहेका छौं । गृहसहित उपप्रधानमन्त्री पनि नलिए सरकारमा जानुको अर्थ रहन्न,’ उनले भने, ‘गृहसहित उपप्रधानमन्त्रीको रुपमा पार्टी सभापति रवि लामिछाने सरकारमा सहभागी बन्नुहुनेछ । गृहबाहेकका मन्त्रालयमा हामी मान्दैनौं ।’  

यद्यपि, मन्त्रालय भागबन्डा र समझदारीका लागि सत्ता गठबन्धन दलहरूको बैठक आज दिउँसो बस्दैछ । बैठकमा रास्वपाबाट वाग्ले नै सहभागी हुने बुझिएको छ । सो कार्यदलमा एमालेबाट विष्णु पौडेल, माओवादीबाट वर्षमान पुन र जसपाबाट राजेन्द्र राई सदस्य छन् ।  

सोमबार नयाँ गठबन्धनसहित विस्तार भएको मन्त्रिपरिषद्मा रास्वपाबाट डिपी अर्याल बिनाविभागीय मन्त्री बनिसकेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गृहमा एमालेलाई सेट गरेर अर्थ मन्त्रालयमा वर्षमान पुनलाई ल्याउन चाहेका छन् । तर, दाहालको यो चाहना पूरा नहुने प्रारम्भिक संकेत देखिएको छ । प्रधानमन्त्री दाहालले पहिलो गासमै एमाले र रास्वपालाई ढुंगा लगाउन नचाहेको बताइन्छ । 

 

Advertisement