लघुवित्त पीडितसँगको वार्ता सहमतिनजिक, आज फेरि बस्दै
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिसँगको वार्ता सहमतिनजिक पुगेको छ । अर्थ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको नेतृत्वमा गठित वार्ता समितिले लघुवित्त पीडितसँग बिहीबार साँझ छलफल गरेको र शुक्रबार बिहान पुनः बस्ने गरी सकिएको अर्थमन्त्री वर्षमान पुनको निजी सचिवालयले जनाएको छ ।

‘आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिले उठाएका मागहरुका सम्बन्धमा छलफल भएको छ । पीडितका माग सम्बोधनका लागि नेपाल राष्ट्र बैंकलगायत निकायबाट हालसम्म भएका पहल र सम्बोधन गर्न सकिने जायज मागबारे छलफल पछि दुवैपक्ष सहमति नजिक पुगेका छन्,’ अर्थमन्त्रीको निजी सचिवालयले भनेको छ ।

Advertisement

मन्त्रालयद्वारा गठित वार्ता समितिले आज नै सहमतिका लागि प्रयास गरेको भए पनि लघुवित्त पीडितहरूले भोलिसम्मको समय मागेपछि बिहीबारको छलफल सकिएको हो । द्विपक्षीय छलफलमा लघुवित्त पीडितका समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकबाट भएको प्रयासबारे जानकारी गराइएको थियो । 

त्यस्तै, राष्ट्र बैंकको नियमनभित्र रहेका लघुवित्त संस्थाहरूले तोकिएको भन्दा बढी ब्याज र सेवाशुल्क नपाउने व्यवस्था कडाइका साथ लागु भइरहेको जानकारी पनि राष्ट्र बैंकले गराएको छ । 

कर्जाको पुनर्संरचना, पुनर्तालिकीकरणलगायतका विषयमा पनि छलफल भएको जनाइएको छ । नियामक नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशन विपरीत कार्य गर्ने लघुवित्त वित्तीय संस्थाहरूमाथि छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने माग पीडितहरूले उठाउँदै आएका छन् ।

सरकारबाट गठित वार्ता समितिमा गृहमन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई, कानुन मन्त्रालयका उपसचिव झइन्द्र गुरागाईं र नेपाल राष्ट्र बैंकका प्रतिनिधि थिए । 

अर्थमन्त्री वर्षमान पुनले बुधबार सङ्घर्ष समितिसँग वार्ता गरी उनीहरुका माग सम्बोधन गर्ने उपायसहित प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए । त्यसैगरी, मन्त्रालयले यसअघि नै समस्याको टुङ्गो नलाग्दासम्म लघुवित्तका ऋणीलाई घरघरमा गएर गैरकानुनी रुपमा बलजफ्ती नगर्न लघुवित्त सञ्चालकलाई निर्देशन पनि दिएको थियो ।
 

Advertisement

Advertisement