मनास्लु हिमालको रोप फिक्सिङ सम्पन्न भएसँगै छ जनाले गरे सफल आरोहण

Advertisement

काठमाडौं । शरद ऋतुका लागि मनास्लु हिमालको रोप फिक्सिङ सम्पन्न भएको छ । 

यस सिजनको लागि मनास्लु हिमालको चुचुरोसम्मको लागि रोप फिक्सिङको जिम्मेवारी सेभेन समिट ट्रेक कम्पनीले पाएको थियो । एक्सपिडिसन अपरेटर्स एसोसिएसन नेपाल (इओए–नेपाल) अन्तर्गत मनास्लु हिमालमा रोप फिक्सिङ (डोरी टाग्ने) को जिम्मेवारी शरद ऋतुको लागि दिइएको थियो । 

Advertisement

मनास्लु हिमालको चुचुरो सम्म रोप फिक्सिङ टिमको लिडर सेभेन समिट ट्रेक कम्पनीका एक्सपिडिसन म्यानेजर छाङ दावा शेर्पाले गरेका हुन् । मनास्लु हिमालमा रोप फिक्सिङ टोलीको लिडर छाङ दावा शेर्पा, फिक्सिङ टिममा सोलुखुम्बुका पाम्दोर्जी शेर्पा, सोलुखुम्बुका नम्गेल शेर्पा, सोलुखुम्बुका निमा टाँसी शेर्पा, सङ्खुवासभाका दावा शेर्पा (स्पीड दावा), सङ्खुवासभाका पेम्बा टाँसी शेर्पा, सङ्खुवासभाका सिर्जनग्बु शेर्पाले मनास्लुको चुचुरोसम्म डोरी टाँगेका हुन् ।

आज दिउँसो साढे ३ः३० बजे सेभेन समिट ट्रेक कम्पनीका रोप फिक्सिङ टिमका छ जना शेर्पाले मनास्लु हिमालको चुचुरोसम्मको रोप फिक्सिङ गरी यस शरद ऋतुका लागि मनास्लु हिमाल आरोहणको लागि खुल्ला गरिएको मनास्लु हिमालको रोप फिक्सिङका को–लिडर लाक्पा शेर्पा (मकालु लाक्पा) ले जानकारी दिए ।

पर्यटन विभागबाट हाल मनास्लुसहित १० वटा हिमालका लागि परमिट (आरोहण अनुमति) लिएका छन् । गत वर्षको सिजनमा मनास्लु हिमाल आरोहणका लागि ३०१ जनाले आरोहण अनुमति लिएका थिए भने यस पटक विश्वको ८औं अग्लो हिमाल मनास्लुको लागि मात्रै ३ सय ८ जनाले आरोहण अनुमति लिएका छन् । 

पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार शरद ऋतुका लागि मनास्लु, पुथा हिउचुली, अन्नपूर्ण–४, ठकर गो इस्ट, धौलागिरी, फुङ्गी, कुम्भकर्ण, अरनिको चुली, आपि र मकालु गरी १० वटा हिमालहरुको लागि आरोहण अनुमति दिइएको छ । १० वटा हिमाल आरोहणको लागि २ सय ७४ जना पुरुष र ८८ जना महिला गरी ३ सय ६२ जनाले आरोहणको लागि अनुमति लिएको उनले जानकारी दिए । 

उनले भने, ‘१० वटा हिमाल आरोहणको लागि ५४ वटा देशका नागरिकहरुले आरोहण अनुमति लिएका हुन् । चीनका नागरिक, अमेरिका, रुस, बेलायत, जापान, जर्मनी, काजाकिस्तान, भारतबाट हिमाल आरोहण अनुमति लिने धेरै रहेका छन् ।’ उनीहरूबाट सरकारले ४ करोड ५२ लाख ४५ हजार ८ सय ४८ रुपियाँ संकलन गरेको छ । 

Advertisement