सबै स्थानीय तहमा ब्रोकरका शाखा, इन्ट्रा डे कारोबार खुलाउने नेप्सेको योजना

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सबै स्थानीय तहमा ब्रोकरको शाखा विस्तार गर्ने योजना बनाएको छ । हाल नेपालमा ७५३ वटा स्थानीय तह छन् । उक्त सबै स्थानीय तहमा ब्रोकर शाखा स्थापना गर्ने योजना नेप्सेको छ । 

अर्थमन्त्री बिष्णु पौडेलले भद्रकाली स्थित नेप्से कार्यालयमा निरीक्षण गरेका छन् । सोही अवसरमा नेप्सेका अध्यक्ष शोभाकान्त पौडेलको अर्थमन्त्रीलाई यस्तो योजना सुनाएका हुन् । स्थानीय तहमै ब्रोकर शाखा हुँदाँ कारोबार लागत घट्ने उनको भनाइ थियो । 

Advertisement

यस्तै, अन्तरदिवसीय अर्थात् इन्ट्रा डे शेयर कारोबार खुलाउने योजना पनि पेश गरिएको छ । यो प्रणाली आएमा किनेकै दिन शेयर बिक्री पनि गर्न सकिन्छ । अहिले शेयर किनेको दिनमै त्यो बिक्री गर्न मिल्दैन । शेयर ट्रान्सफरको प्रक्रिया अर्थात् इडीआईएस भएपछि मात्रै खरिद गरेको शेयर बिक्री गर्न मिल्छ । त्यो प्रक्रिया पूरा गर्दा २–३ दिन नै समय लाग्छ । तर, इन्ट्रा डे कारोबारमा किनकै दिन शेयर बिक्री गर्न सकिन्छ । सोही प्रकृतिको शेयर कारोबार खुला गर्ने योजना नेप्सेले अघि सारेको छ । 

यस्तै, ब्रोकरको कार्य क्षेत्र विस्तार गर्ने योजना पनि अघि बढाइएको छ । पोर्टफोलियो म्यानेजमेन्ट लगायतका काम गर्न पनि ब्रोकरलाई दिने नीति नेप्सेको छ ।

यसैगरी विदेशमा रहेका नेपालीसम्म पुँजी बजारको सेवा विस्तार गर्ने योजना पनि अघि बढाइएको छ । यस्तै, स्टक डिलरको संख्या एवम् सेवा विस्तार गर्ने योजना पनि नेप्सेको छ । 

यस्तै, अक्सन मार्केटको व्यवस्था गर्ने योजना पनि अघि बढाइएको छ । एसएमईका लागि लागि छुट्टै प्राविधिक सहयोग सहितको प्लाटफर्म बनाउने योजना पनि अघि बढाइएको छ । 

यस्तै, क्यापीटल मार्केट एकाडेमी स्थापना गर्ने, सरकारी ऋणपत्रलाई डिजीटलाइज गरि कारोबार सहज बनाउने, प्रदेश स्तरीय पूर्वाधार लगानीमा आवश्यक पर्ने पुँजी ऋणपत्र मार्फत जुटाउन सहजीकरण गर्ने  र सामुहिक लगानी कोष जस्तै पूर्वाधार कोष, एनआरएन फन्ड सञ्चालनमा ल्याउने बताइएको छ ।

Advertisement