प्रभु साहले तेस्रो जनआन्दोलन गर्ने, ‘अहिलेका शासकले बेइमानी गरे’

Advertisement

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पार्टीको तर्फबाट तेस्रो जनआन्दोलनको घोषणा गरेका छन् । शनिवार राजधानीमा जन आन्दोलन दिवसको अवसरमा आयोजित खबरदारी सभामा उनले तेस्रो जनआन्दोलनको घोषणा गरेका हुन् । 

पहिलो जनआन्दोलनले नेपालबाट पञ्चायती व्यवस्था खारेज गरेको, दोस्रो जनआन्दोलनले नेपालबाट राजतन्त्रको अन्त्य गरेको भन्दै साहले तेस्रो जनआन्दोलनले लुटकारी दलतन्त्रको अन्त्य गर्ने बताए । उनले अहिलेका व्यवस्थालाई लुटकारी व्यवस्थाको संज्ञा दिँदै नेपालको समृद्धिको लागि अहिलेको व्यवस्था अन्त्य गर्न जरुरी रहेकाले तेस्रो जनआन्दोलन शुरु गर्नुपरेको बताए । 

Advertisement

साहले अहिलेको पार्टी र नेताहरुले आफ्नो पुस्ताका लागि मात्रै काम गरिरहेको जिकिर गरे । लोकतान्त्रिक व्यवस्थामा अहिलेका शासकहरुले बेइमानी गरेको उनको ठहर छ । साहले भने, ‘पहिलो जनआन्दोलनले नेपालबाट पञ्चायती व्यवस्था खारेज गरेको थियो । दोस्रो जनआन्दोलनले नेपालबाट निरंकुस राजतन्त्रको अन्त्य गर्यो, आज तेस्रो जनआन्दोलनको उद्घोष हो । आज नेपालमा लुटकारी जो दलतन्त्र छ, यसको अन्त्यको लागि आज उद्घोषको दिन हो । म यस सभामार्फत नयाँ तेस्रो जनआन्दोलनको उद्घोष गर्न चाहन्छु ।’ 

उनले थपे, ‘तपाईंहरुलाई साक्षी राखेर आम नेपाली जनतालाई साक्षी राखेर हामी भन्न चाहन्छौँ, नेपालको समृद्धिको लागि अहिलेको लुटकारी व्यवस्था अन्त्य गर्नुपर्छ, यसको एउटा ऐतिहासिक दिनको आजको शुरुवात हो । तेस्रो जनआन्दोलनको आज उद्घोष गर्न चाहन्छु । जन आन्दोलन जनता र पार्टीहरु मिलेर गरेका थिए । तर आज तपाईं हेर्नुहुन्छ भने पार्टीका नेताहरु आफ्नो तीन पुस्तालाई पुग्ने गरी आफ्नो अधिकार, आफ्नो अस्तित्वलाई सुनिश्चित गर्नेगरी व्यवस्थामा बेइमानी गरे । जनता निरीह र लाचार जस्तो हुने र प्रमुख पार्टीहरु सिण्डिकेट बनाएर देशमा पार्टीको सिण्डिकेट, गुटको र गुट भित्र पनि नेताको हालीमुहाली ठूलो नेताको आसेपासेले मोज गर्ने र जनता लाचार भएर बस्ने लोकतन्त्र हामीलाई चाहिएको छैन । चोर नेताका कारण, जनताप्रति घात गरेका कारण नेताका लागि आज लोकतन्त्र भयो, पार्टीको लागि लोकतन्त्र भयो, जनता जहाँको त्यहीँ छन् । त्यसलाई सच्याउन हामीले तेस्रो जनआन्दोलनको उद्घोष गरेका छौँ ।’

अध्यक्ष साहले नेपालमा शासकहरुले बनाएको माहोलले जनताहरु चिन्तित भएको बताए । उनले जनताहरु भविष्य के हुने हो भन्नेमा निराश रहेको बताए । 

Advertisement