काठमाडौं । अहिले कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । त्यस्तै, तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
त्यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ ।
साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ ।
त्यसैगरी राति, देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने सोही प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।