लमजुङ । सामाजिक समस्या तथा जङ्गल कटानीलगायत कारणले निर्माणाधीन दुई सय २० केभी उदिपुर-मार्कीचोक-भरतपुर प्रसारण लाइनको काम ठप्पप्रायः छ । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य निर्धारण भएको तीन अर्ब लागतको परियोजनाको काम छ वर्षमा पनि पूरा भएको छैन ।
हालसम्म ७० प्रतिशतमात्र निर्माण सम्पन्न भएको परियोजनाको उदिपुर-भरतपुर डिभिजन प्रमुख नारायण रेग्मीले बताए । दुई सय २० केभी उदिपुर-मार्कीचोक-भरतपुर ‘डबल सर्किट’ प्रसारण लाइन निर्माण सन् २०१८ जनवरी १७ देखि थालिएकामा कारोना महामारी र बन कटानीलगायत कारणले पूरा हुन नसकेको उनको तर्क छ ।
विसं २०८१ साउन १५ गतेभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीको म्याद थपिएको छ । आयोजनाकाअनुसार लमजुङको उदिपुरबाट चितवनको भरतपुरसम्म ६७ किलोमिटर प्रसारण लाइन पुर्याउनका एक सय ९९ वटा टावर आवश्यक पर्नेछन् । हालसम्म एक सय २० टावरको फाउण्डेशन तयार भएको छ ।
गोरखा र तनहुँमा गरी १० हजार दुई सय २५ वटा रुख फडानीको तयारी भएको डिभिजन प्रमुख रेग्मीले बताए । लमजुङमा निर्माण हुने ४५ वटा टावरमध्ये ३२ सम्पन्न भइसकेका छन् ।
मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको स्वीच यार्डसम्म लाइन पुर्याउन छ किलोमिटरसम्म यही प्रसारण लाइन प्रयोग भएको छ । उदिपुरबाट मध्यमस्र्याङ्दीसम्मको छ किलोमिटर खण्डमा १७ वटा टावर छन् ।