काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वतन्त्र न्यायपालिका बिनाको प्रेस स्वतन्त्रता र स्वतन्त्र प्रेस बिनाको स्वतन्त्र न्यायपालिकाको परिकल्पना गर्न नसकिने बताएका छन् ।
शुक्रवार साँझ काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित एक कार्यक्रममा उनले न्यायपालिका र सञ्चार जगत प्रजातन्त्रका महत्वपूर्ण आधारस्तम्भहरु भएको बताए ।
श्रेष्ठले न्यायपालिका र सञ्चार जगतको अभावमा प्रजातन्त्र बलियो हुन नसक्ने बताए । उनले स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रताको सुनिश्चितता बिना कानूनको शासन समृद्ध बन्न नसक्ने बताए । श्रेष्ठले नेपालको संविधानको प्रश्तावनामा नै पूर्ण प्रेस स्वतन्त्रता, सक्षम, स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको अवधारणालाई आत्मसाथ गरेको उल्लेख गर्दै स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रतालाई एकअर्काको परिपूरक र अन्तरसम्बन्धित आवरण वा मान्यताका रुपमा लिने गरिएको बताए ।
उनले न्यायपालिका र सञ्चार क्षेत्रको भूमिका र जिम्मेवारी फरक भए पनि लक्ष्य, उद्देश्य एउटै रहेको बताए । प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिका र संविधानको आत्मा नागरिकको आस्थाबाट जीवन्त हुने संस्था भएको बताए । उनले न्यायपालिकाको जिम्मेवारी, भूमिका र कार्यप्रगति विशिष्ट र संवेदनशील हुने भएकाले न्यायपालिकाको कार्यप्रकृति र त्यसको संवेदनशीलताका बारेमा सञ्चार जगत लगायत संवद्ध सबैमा सोहीअनुरुपको दृष्टिकोण रहनु वाञ्छनीय हुने बताए ।
श्रेष्ठले न्यायपालिकाको आभास भनेको न्याय सम्पादनको रोहमा गर्ने फैसला र आदेश रहेको बताए । स्वतन्त्र न्यायपालिकाका मूल्य, मान्यतालाई अक्षुण्ड राख्नुपर्ने उनले बताए । श्रेष्ठले नागरिकको अपेक्षाअनुरुपको नतिजामुखी कार्य सम्पादन तथा विश्वस्त हुनसक्ने वातावरणको निर्माण अहिलेको प्रमुख आवश्यकता र चुनौति भएको बताए ।
उनले भने, ‘न्यायपालिका र सञ्चार जगत प्रजातन्त्रका महत्वपूर्ण आधारस्तम्भहरु हुन् । यसको अभावमा प्रजातन्त्र बलियो हुन सक्दैन । साथै स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रताको सुनिश्चितता बिना कानूनको शासन समृद्ध बन्न सक्दैन । नेपालको संविधानको प्रश्तावनामा नै पूर्ण प्रेस स्वतन्त्रता, सक्षम, स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको अवधारणालाई आत्मसाथ गरेको छ । त्यसैले स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रतालाई एकअर्काको परिपूरक र अन्तरसम्बन्धित आवरण वा मान्यताका रुपमा लिने गरिन्छ । स्वतन्त्र न्यायपालिका बिनाको प्रेस स्वतन्त्रता र स्वतन्त्र प्रेस बिनाको स्वतन्त्र न्यायपालिकाको परिकल्पना गर्न सकिँदैन ।’
श्रेष्ठले थपे, ‘न्यायपालिका र सञ्चार क्षेत्रको भुमिका र जिम्मेवारी फरक भएपनि लक्ष्य, उद्देश्य एउटै हो भन्ने मलाई लाग्छ । त्यो हो स्वतन्त्र न्याय, नागरिक अधिकारको संरक्षण, न्यायपूर्ण समाजको प्रत्याभुति गर्नु नै हो । न्यायपालिका र संविधानको आत्मा नागरिकको आस्थाबाट जीवन्त हुने संस्था हो । नागरिकका त्यसप्रकारका आस्था र भरोसा सावित गर्न सञ्चारमाध्यमको महत्वपूर्ण भुमिका रहन्छ । न्यायपालिकाको जिम्मेवारी, भुमिका र कार्यप्रगति विशिष्ट र संवेदनशील हुन्छ । न्यायपालिकाको कार्यप्रकृति र त्यसको संवेदनशीलताका बारेमा सञ्चार जगत लगायत संवद्ध सबैमा सोहीअनुरुपको दृष्टिकोण रहनु वाञ्छनीय हुन्छ । न्यायपालिकाको आभास भनेको न्याय सम्पादनको रोहमा गर्ने फैसला र आदेश नै हो ।’
प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकाको आवाज भनेकै सञ्चारमाध्यम भएको बताए । उनले सञ्चारमाध्यमबाटै न्यायपालिकाको काम कारबाही र फैसलाको यथार्थ अवस्था आम नागरिकसमक्ष पुग्ने बताए । श्रेष्ठले न्यायपालिका र न्यायिक काम कारबाहीसँग सम्बन्धित समाचार र सूचना संप्रेषण गर्दा सोही अनुरुपको संवेदनशीलता र गम्भीरता आवश्यक हुने बताए ।
न्यायपालिकाप्रतिको आस्था र विश्वास अभिवृद्धि गर्न सञ्चार क्षेत्रको भूमिका उल्लेखनीय रहेको बताए । अदालतमा विचाराधिन मुद्दा प्रभावित हुनेगरी वा न्यायकर्मीको स्वच्छता, निर्भिकता, मर्यादा र आत्मसम्मानमा आँच आउनेगरी समाचार प्रकाशन वा प्रशारण गर्न नहुने बताए । समाचारका कारण न्याय पराजित हुने अवस्था बन्नु नहुने उनले बताए ।