काठमाडौं । सार्वजनिक शौचालय प्रयोग गरेबापत अब सेवाग्राहीसँग शुल्क लिन नपाइने भएको छ ।
काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका सम्पूर्ण सार्वजनिक शौचालयका लागि आवश्यकताअनुसार जनशक्ति, सामग्री, मर्मतसम्भार र सरसफाइ सहयोग उपलब्ध गराउने भएकाले यस्ता शौचालय प्रयोग गरेबापत शुल्क लिन नपाइने भएको हो ।
साथै, महानगरपालिकाले शुल्क लिई सार्वजनिक शौचालय सञ्चालन गरिरहेका सञ्चालक तथा व्यवस्थापकलाई १५ दिनभित्र महागरपालिकाको सार्वजनिक निजी साझेदारी एकाईमा लिखित प्रस्ताव पेस गर्नसमेत भनेको छ ।
तोकिएको समयपछि महानगर क्षेत्रभित्रका सबै शौचालय निःशुल्क सञ्चालन गर्नुपर्नेछ । साथै, शौचालय प्रयोग गरेबापत सेवाग्राहीसँग कुनै शुल्क लिएमा प्रचलित कानुनअनुसार कारबाही गरिने पनि महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले कुनै सरकारी निकाय, गैरसरकारी संस्था वा निजी क्षेत्रबाट आफ्नो परिसरभित्र वा बाहिर सार्वजनिक शौचालय सञ्चालन गरेको हकमा पनि निःशुल्क सेवा उपलब्ध गराउन अनुरोध गरेको छ ।