कांग्रेस नेता भन्छन्– यो रुपको संघीयता, निर्वाचन प्रणाली, शासन व्यवस्था, सरकारले देश चल्दैन्

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका सांसद सञ्जय गौतमले संविधान संशोधनका लागि राष्ट्रिय सरकार बनाउनुपर्ने बताएका छन् । 

मंगलवार संसदको विशेष समयमा उनले संविधान संशोधनका लागि दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय सरकार बनाउनुपर्ने बताए । गौतमले अब यही रुपको संघीयता, निर्वाचन प्रणाली, शासन व्यवस्था र सरकार सम्भव नभएको बताए । 

Advertisement

त्यसका लागि संविधान संशोधन गर्नुपर्ने उनले बताए । गौतमले यही प्रक्रियामा देश चलाएर देशलाई बर्बाद पारिरहेको बताए । उनले यो संसदबाट राष्ट्रिय सरकार निर्माण गर्न सकिने पनि बताए । 

उनले भने, ‘के यो देशले अब यो स्थिति चुपचाप सहन सक्छ ? यही रुपको संघीयता, यही रुपको निर्वाचन प्रणाली, यही रुपको सरकार, यही रुपको शासन व्यवस्था अब सम्भव छ ? मलाई लाग्दैन । हामी अनावश्यक समय खेर फाल्दैछौँ । देश बर्बाद पार्दैछौँ । जुन राज्यमा शासकहरु भ्रष्ट हुन्छन् । जुन राज्यमा शासकहरु व्यभिचारी हुन्छन् । जुन राष्ट्रमा शासन गर्नेसँग लेस मात्रैको पनि नैतिक आचरण हुँदैन । त्यो राज्यका कर्मचारी कस्ता हुन्छन् ? त्यो देशको न्यायपालिका कस्तो हुन्छ ? के आशा गर्ने ? के भरोसा गर्ने ? म निराश भएको छु ।’ 

गौतमले थपे, ‘अब हामीसँग एउटा झिनो आशा बाँकी छ । देशको माया गरौँ । दलगत आग्रह र पूर्वाग्रहलाई छोडेर संविधान संशोधनका लागि राष्ट्रिय सरकार निर्माण गरौँ । यहीँ संसदबाट राष्ट्रिय सरकार निर्माण गर्न हामी सक्छौँ । बोर्डर डेमोक्रेटिक एलाइन्स्को कल्पना गरौँ । र यो संविधानलाई संशोधन गरौँ । यो मुलुकमा सुशासनको प्रत्याभुति दिउँ । जनतामा आशा र भरोसा पैदा गर्ने एउटा बाटो कोरौँ । अनिमात्र हामिले अगाडी बढ्न सक्छौँ ।’

उनले तराईमा गर्मी बढीरहेको र जनजीवन प्रभावित भइरहेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले विपद् व्यवस्थापनका लागि पूर्वतयारी थाल्न सरकारलाई आग्रह गरे । 

Advertisement

Advertisement