आईएसए सम्झौता अनुमोदन, दुई वर्षभित्र एक हजार मेघावाट सौर्यउर्जा थपिन्छः मन्त्री बस्नेत

Advertisement

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षभित्र सोलारबाट एक हजार मेघावाट विद्युत थप गर्ने बताएका छन् । 

बिहीवार प्रतिनिधि सभा बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएस ए)को स्थापनासँग सम्बन्धित सम्झौतामाथि उठेका प्रश्नको जवाफ दिँदै उनले दुई वर्षभित्रमा एक हजार मेघावाट विद्युत सोलारबाट थप गर्ने बताएका हुन् । 

Advertisement

बस्नेतले सो सम्झौता राष्ट्रको हितमा भएको भन्दै राष्ट्रको हितमा नै काम गर्दै जाने बताए । उनले भने, ‘आगामी दुई वर्षभित्र सोलारबाट नै हामीले एकहजार मेघावाट विद्युत थप गर्नेछौँ । आगामी वर्षमा हामीले जलवायुबाट ४५ सय पु¥याउने भनेका छौँ । यो राष्ट्रको अहितमा छैन । सजगताका साथ कार्यान्वयन हुन्छ । राष्ट्रको हितमा हेरिन्छ ।’

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधि सभा बैठकबाट अनुमोदन भएको छ ।

बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले कुनै पनि सन्धी गर्दा आवश्यक छ कि छैन भन्ने अध्ययन गरेर मात्रै गर्नुपर्ने बताए । 

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन भारत र फ्रान्सको सहयोगमा स्थापना भएको बताउँदै यस सन्धीबाट नेपालले धेरै भन्दा धेरै फाइदा लिन सक्नुपर्ने बताए । सन्धीमा नेपाल सामेल हुनु उपयुक्त र नेपालका लागि फाइदाजनक रहेको पन्तको भनाई छ । 

उनले भने, ‘आईएसए भारत र फ्रान्सको सहयोगमा स्थापना भएको हो । यसमा पनि संसारमा एउटा प्रतिष्पर्धा छ । त्यो प्रतिष्पर्धाबाट हामीले फाइदा उठाउनुपर्छ । खासगरी सोलारमा सबैभन्दा अगाडि र छिटो विकास गर्ने देश चीन हो । जसको सोलारको गुणस्तर पनि राम्रो र मूल्य पनि सस्तो छ । त्यसकारण त्यसको बजार अन्तर्राष्ट्रिय स्तरमा पुगेको छ । सौर्य उर्जाको उत्पादन संसारभर नै बढ्दै गएको छ र नेपालमा पनि सौर्य शक्तिबाट बिजुली उत्पादनको सम्भावना राम्रो छ । यो सन्धीमा नेपाल सामेल हुनु उपयुक्त र नेपालका लागि फाइदा पनि छ । तर विश्वव्यापी रुपमा देखापरेको प्रतिष्पर्धाबाट नेपालले फाइदा लिनुपर्छ । यो गठबन्धनमा पनि हामी हतारमा सामेल भयौँ । कुनैपनि सन्धी हाम्रा लागि आवश्यक छ की छैन, त्यसमा अध्ययन गरेर मात्रै सन्धी गर्नुपर्छ ।’

माओवादी केन्द्रका माधव सापकोटाले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौता प्रक्रियागत रुपमा उल्टो भएको बताए । उनले प्रक्रियाका रुपमा उल्टो भए पनि समग्र स्थितिका हिसावले अति आवश्यक रहेको बताए । 

सन्धीलाई संसदले पास गरेर कार्यान्वयनको दिशामा लैजानुपर्ने सापकोटाले बताए । उनले भने, ‘प्रक्रियाका हिसावले पहिला हाम्रो संसदमा गहन छलफल गरेर ति सुझावहरुका आधारमा सम्झौता गर्दा प्रक्रियागत हिसावले सुल्टो हुन्थ्यो । तर पनि सम्झौता भइसकेको छ, गत चैत्र ५ गते यही संसदमा हामीले सैद्धान्तिक छलफलमा भाग लिएका थियौँ । प्रक्रियाका हिसावले यो उल्टो भएपनि आजको समग्र स्थितिका हिसावले अति आवश्यक छ । संसदले पास गरेर कार्यान्वयनको दिशामा लैजानुपर्छ ।’

माओवादीकै सांसद अम्मरबहादुर थापाले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौता स्वागतयोग्य रहेको बताउनु भयो । उहाँले सन्धीमात्रै गरेर नहुने भन्दै उहाँले गतिका साथ अघि बढाउनुपर्ने सुझाव दिए । 

उनले भने, ‘यो स्वागतयोग्य छ । राष्ट्रलाई उत्पादनमा लगाउनुपर्छ । यो सन्धी मात्रै पास गर्ने हो की गतिका साथ अघि बढ्ने हो ? यो शंकास्पद नै छ । यो पास होस्, यसका पक्षमा छौँ तर यो देशलाई अहिले पनि जलश्रोतको धनी देश भन्ने र लोडसेडिङमा परेको प¥यै गर्ने । यही सदनमा गुञ्जायमान छ । यस्तो गर्मीमा जनताले लोड सेडिङ खेपिरहनुभएको छ ।’

Advertisement

Advertisement