काठमाडौं । नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् बिक्री गर्न आज (बिहीबार) त्रिपक्षीय सम्झौता हुँदैछ । आज ४ बजे राजधानीमा बिशेष कार्यक्रम गरी नेपाल, भारत र बंगलादेशले सम्झौता पत्रमा हस्ताक्षर गर्न लागेका छन् ।
भारतीयप्रसारण लाइन हुँदै बंगलादेश विद्युत् पुर्याउने भएकाले भारतीय पक्षलाई समेत समावेश गरेर सम्झौता गर्न लागिएको हो ।
नेपालको तर्फबाट नेपाल विद्युत् प्राधिकरण, बंगलादेशको तर्फबाट बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीपी) र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन)का कार्यकारी प्रमुखहरुले हस्ताक्षर गर्नेछन् ।
सम्झौताकै सिलसिलामा बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोत मन्त्री सैयदा रिजवाना हसन पनि नेपालमा आएकी छन् । यही प्रयोजनका लागि हसन हिजो नै काठमाडौं आइ पुगेकी छन् ।
सम्झौतापछि प्राधिकरणले २५ मेगावाटको त्रिशूली र २२ मेगावाटको चिलेमे जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्नेछ । प्राधिकरणले पाँच बर्षसम्म १५ जुन–१५ नोभेम्बरसम्म विद्युत् बिक्री गर्ने गरि सम्झौता हुनेछ ।
प्रतियुनिट ६.४० अमेरिकी सेन्टको दरमा यस्तो सम्झौता हुँदैछ । अबको एक महिनाभित्र बंगलादेशमा विद्युत् निर्यात गर्न सुरु हुनेछ । बुधबार काठमाडौंमा सम्पन्न नेपाल बंगलादेश ऊर्जा सचीव स्तरीय बैठकले पनि यो सम्झौता पत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको थियो । ‘
नेपालमा उत्पादित ४० मेगावाट विद्युत बंगलादेशमा निर्यात गर्नका लागि असोज १७ गते नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपीसि विद्युत व्यापार निगम, भारत बीच विद्युत विक्री सम्झौतामा हस्ताक्षर गर्ने,’ ऊर्जा मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
उक्त बैठकले ६८३ मेगावाटको सुनकोशी तेस्रो जलविद्युत् परियाजनाको विद्युत् पनि बंगलादेशमा निर्यात गर्ने निर्णय गरेको छ । उक्त परियोजना नेपाल र बंगलादेशको संयुक्त लगानीमा बन्दैछ । परियोजना बनेपछि त्यहाँको बिजुली पनि बंगलादेश निर्यात बिक्री गरिने सहमती भएको छ । यद्यपि, नेपालले आवश्यक परेको बेला त्यहाँको विद्युत् प्रयोग गर्न पाउने शर्त रहेको स्रोतको भनाइ छ ।
बैठकले सुनकोशी–३ जलविद्युत आयोजनाबाट उत्पादित विद्युत भारत हुँदै बंगलादेशसम्म पुयाउने सुनिश्चितताको लागि भारत सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । यो परियोजना नेपाल, बंगलादेश र भारत बीच सहकार्यपूर्ण सहभागीता आधारमा विकास गर्ने सहमती पनि बैठकमा भएको छ ।
उक्त आयोजना विकास गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गर्ने सम्बन्धी संयुक्त उपक्रम सम्झौतामा अर्को बैठक अगाडि टुंगो लगाउने सहमती पनि भएको छ ।
यस्तै, नेपाल र बंगलादेशबीच विद्युत व्यापारका लागि प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनहरुको प्राविधिक र आर्थिक पक्षको अध्ययन गर्ने सहमती पनि भएको छ ।
यसैगरि नेपालको जलविद्युत क्षेत्रमा लगानीको प्रवर्द्धन गर्नको लागि बंगलादेशको निजी क्षेत्रलाई आकर्षित गर्न व्यावसायिक सम्मेलन आयोजना गर्ने सम्बन्धमा सम्भावनाहरुको खोजी गर्ने सहमती पनि भएको छ ।
विज्ञप्तीअनुसार नेपालको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र बंगलादेशको दिगो तथा नवीकरणीय ऊर्जा विकास प्राधिकरणबी बंगलादेशबीच वैकल्पिक ऊर्जामा सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रलाई आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरी अन्तिम रुप दिने र हस्ताक्षर गर्ने सहमती पनि भएको छ ।
यसैगरि नेपाल, बंगलादेश र भारत बीच विद्युत व्यापार, अन्तरदेशीय प्रसारण लाइन निर्माण लगायतका विद्युत क्षेत्रमा सहकार्य गर्नका लागि त्रिपक्षीय संयन्त्र बनाउन आ–आफ्नोतर्फबाट पहल गर्ने सहमती पनि भएको छ ।