काठमाडौं । आर्थिक वर्ष २०१८–१९ देखि आर्थिक वर्ष २०५९–६० का बेरुजु ४० वर्षमा ३६ लाख चार हजार ४३७ रुपियाँ मात्रै फछ्र्यौट भएको कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयले जानकारी दिएको छ ।
सोमवार संसदको सार्वजनिक लेखा समिति बैठकमा कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयले यस्तो जानकारी दिएको हो । समिति बैठकमा बोल्दै कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय प्रमुख नमूना कार्की दाहालले आर्थिक वर्ष २०१८–१९ देखि आर्थिक वर्ष २०५९–६० सम्मको सरकारी बेरुजुको ३६ लाख ४४३७ रुपियाँ मात्रै लगत कट्टा गर्न सफल भएको बताए ।
प्रमुुख कार्कीले लागत कट्टा रकम हेर्दा कार्यालयको कार्यक्षमता कमजोर देखिएको स्वीकार गरे । उनले आर्थिक वर्षगत रुपमा बेरुजु लगत कट्टा हेर्दा महालेखापरीक्षकको कार्यालयबाट प्राप्त १६८५ थान प्रतिवेदनका ठेलीहरुलाई कम्प्युटरमा ल्याएपछि १८ अर्ब १६ करोड १३ लाख ३२ हजार ७०७ रहेको बताए ।
कार्कीले कार्यालयले सरकारी कार्यालयहरुको श्रणपरीक्षण गर्ने, लगत कट्टा गर्ने काम गर्दा अहिलेसम्म एक अर्ब ८८ करोड ७० लाख छ हजार मात्रै बेरुजु फछ्र्यौट गर्न सफल भएको बताए । उनले अझै आर्थिक वर्ष २०१८–१९ देखि आर्थिक वर्ष २०५९–६० सालसम्मको सरकारी कार्यालय वा मन्त्रालयगत बेरजु १५ अर्ब नौ करोड छ लाख ४२ हजार ५०३ रहेको बताए ।
राष्ट्रिय योजना आयोगको सचिवालयसहित २८ मन्त्रालयहरुको फछ्र्योट हुन बाँकि बेरुजु चालु विगत ४० वर्षमा १५ अर्ब ९ करोड पुगेको कुमारी चाक तथा केन्द्रीय तहसिल कार्यालयले दिएको जानकारी दिए ।
उनले कार्यालयमा बेरुजु फछ्र्यौट नगर्ने व्यक्तिलाई थुनामा राख्नसक्ने अधिकार भए पनि उपसचिवको नेतृत्व लगायत कर्मचारीको अभावको कारण सोचे जस्तो काम गर्न नसकिएको बताए ।