विश्‍व बैंक समूहअन्तर्गत आईडीएको बैठक आजदेखि

Advertisement

काठमाडौं । विश्‍व बैंक समूहअन्तर्गत अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ को तेस्रो बैठक आज (मंगलबार) देखि काठमाडौंमा सुरु हुँदैछ । बैठक असार ७ गतेसम्म चल्नेछ । 

बैठकको उद्‍घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् ।

Advertisement

नेपालले गरेको प्रस्तावलाई विश्व बैंक व्यवस्थापनले स्वीकार गरी नेपालमा सञ्चालन गर्न लागेको उक्त बैठकमा विश्‍व वैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसेनवर्ग लगायत उच्च पदस्थ पदाधिकारी सहित ६१ देशका करिब २०० भन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् ।

आगामी तीन वर्षका लागि आईडीए देशलाई प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता तथा प्राथमिकता क्षेत्र, नीति ढाँचा, नतिजा खाका र सोको लागि आवश्यक वित्तीय स्रोतको प्रतिबद्धता व्यक्त गर्ने  सम्बन्धमा दातृ पक्ष, सहायता प्राप्त गर्ने देशका प्रतिनिधि र विश्व बैकका उच्च पदस्थ पदाधिकारीहरूबीच चार दिनसम्म प्रविधिक सत्रमा छलफल हुने बताइएको छ ।

सो अवसरमा बैठकमा सहभागीहरूबाट विश्‍व वैंक समेतका सहयोगमा नेपालमा सञ्‍चालित शिक्षा, खानेपानी, पुनर्निमाण, उर्जा, जलवायु लगायतका क्षेत्रसंग सम्बन्धित विभिन्न ९ वटा आयोजनाहरूको समेत स्थलगत भ्रमण हुनेछ ।

नेपालमा सञ्चालन भएका आयोजनाको प्रगति र अवस्थाबारे विश्व समुदायलाई नजिकबाट देखाउन र बुझाउन यसले अवसर प्रदान गर्नेछ ।

दक्षिण एसियामै पहिलो पटक आयोजना हुन लागेको विश्व बैंकको उक्त प्रकृतिको उच्च स्तरीय बैठकको तयारी सम्पन्‍न भएको अर्थ मन्त्रालयले जनाएको छ ।

काठमाडौंस्थित होटल सोल्टीमा सञ्चालन हुने उक्त बैठकमा सहभागिताका लागि हालसम्म विभिन्न देश तथा विश्व बैंकबाट करिब १ सय ५० जनाभन्दा बढी प्रतिनिधि काठमाडौं आइपुगेका छन् । बाँकी आजै आइपुग्ने बताइएको छ ।

यस बैठकको आयोजनाबाट नेपालको विकास अनुभव र सफल मोडलको जानकारी विश्व समुदायलाई हुने,  नेपालका विकास प्राथमिकतालाई आईडीएको नीति प्रथमिकतासँग तादम्य गराउन अवसर मिल्ने, अन्तर्राष्ट्रिय स्तरमा पहिचान बढने, आगामी दिनमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय स्तरका ठूला कार्यक्रम सञ्चालन गर्न आत्मविश्वास बढ्ने, पर्यटन प्रवर्द्धन र अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।

Advertisement

Advertisement