काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेसभित्र फोहोर रहेको भन्दै सफा गर्न आवश्यक रहेको बताएका छन् ।
सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा काँग्रेसभित्र फोहोर कम र सफा गर्ने मानिसहरु धेरै रहेको भन्दै थोरै फोहोर गर्ने मानिसका कारण काँग्रेस बद्नाम भइरहेको बताए ।
सत्पात्रको खोजी गरेर फोहोर गर्नेहरुलाई पार्टीबाट भाग्नुपर्ने स्थिति बनाउन आवश्यक रहेको थापाले बताए । उनले नेपालको राजनीति सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्नेमा मात्रै सीमित बनिरहेको बताए ।
नेपाली काँग्रेसमा योगदान दिएका पात्रहरुलाई हामीले गाउँ गाउँबाट खोज्न आवश्यक रहेको उनले बताए । थापाले भने, ‘हाम्रो राजनीति कस्तो हुँदै गएको छ भने सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्ने यसमा गएर यसले एउटा मिसन नै हराएको जस्तो भएको छ । त्यो मिसन हराएको जस्तो राजनीतिबाट हामी मुक्त हुनुपर्छ । अरु राजनीतिक दलले आफ्नो ठाउँबाट प्रयास गर्नुहोला, हामीले आफ्नो ठाउँबाट प्रयास गर्नेछौँ ।’
उनले थपे, ‘हामीले हाम्रो इतिहासमा रहेको, हामीले सम्झनुपर्ने तर नसम्झिरहेको पात्रहरुलाई खोजि खोजिकन ल्याउनुपर्छ । नेपाली काँग्रेसमा योगदान दिनुभएका पात्रहरुलाई हामीले गाउँ गाउँबाट खोज्न आवश्यक छ । किनपनि भने काँग्रेसभित्रको फोहोर हामीले सफा गर्नुपर्नेछ । काँग्रेस भित्रको फोहोर सफा गर्नका निम्ति हामीले फोहोर सफा गर्नका लागि ऐना अगाडि उभिएर, ऐनामा लागेको फोहोर मेटेर त्यो आफू भित्र लागेको दाग सफा हुँदैन । काँग्रेस भित्रको फोहोर सफा गर्ने सन्दर्भमा काँग्रेस भित्रको फोहोर थोरै छ । काँग्रेस भित्रको सफाको अंश धेरै छ । तर त्यो सफाको अंश के हुने भयो भने चर्चा कम हुने भयो । फोहोर गर्नेहरुलाई पार्टीबाट भाग्नुपर्ने अवस्था सिर्जना गर्नुपर्ने छ ।’
थापाले प्रधानमन्त्री बन्नेहरुलाई म किन प्रधानमन्त्री बनेको हुँ ? भन्नेकुराको जानकारी नै नरहेको बताए ।