काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहकारी ठगीबाट पार्टी सभापतिलाई कसरी जोगाउने भन्ने मात्रै चिन्ता रहेको बताएका छन् ।
मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले आफ्नो दलको सभापतिलाई सहकारी ठगीबाट कसरी जोगाउन सकिन्छ ? भन्ने चिन्ता रहेको पार्टीले देश बनाउन नसक्ने बताए ।
नेकपा एमालेप्रति लक्षित गर्दै शर्माले पार्टी अध्यक्ष केपी ओलीलाई गिरिबन्धु टि–इस्टेट प्रकरणबाट जोगाउन लागिपरेको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री पदलाई दमदार बनाउनुपर्छ भन्नेगरी काम गर्न नसकेको बताए ।
प्रधानमन्त्री दाहालाई गणित मिलाएर सरकारमा रही रहने कुरामा मात्रै ध्यान रहेको उनले बताए । शर्माले भने, ‘देश कहीँ न कहीँ आशाको सम्भावनाको मोडमा छ । हामी सरकारमा छैनौँ, त्यसकारण सबै देश गलत बाटोमा गइरहेको छ भन्ने होइन । देशले आर्थिक रुपान्तरणको एउटा गति लिने सम्भावनाको मोडमा रहेको छ । इतिहासको सबैभन्दा सुन्दर घडीमा छ नेपाल भन्न सकिन्छ । किनभने काँग्रेसले हो, हिंसाबाट शान्तिमा ल्याएको, काँग्रेस हो, जसले समानुपातिक, सहभागिता सहितको संघीय गणतन्त्रको संविधान निर्माण गरेको । आशावादी भएर हेर्नसक्ने सम्भावनाहरु छन् ।’
उनले थपे, ‘नागरिकको निराशालाई चिरिराखेर आशा र भरोसा दिलाउन सक्नुपर्छ । तर संगैको सरकारको गतिविधि त्यो प्रकृतिको देखिँदैन । त्यसमा हामीले दबाब दिनुपर्छ । सरकार सिंगो अस्तित्व हो तर आज सिंगो अस्तित्व नदेखिएर टुक्रा टुक्रा देखिएको छ । एउटा दललाई कसरी हुन्छ आफ्नो दलको सभापतिलाई सहकारी ठगीबाट जोगाउन सकियोस् । कारबाहीको प्रक्रियाबाट जोगाउन सकियोस् । एउटा दलको चिन्ता जम्मा त्यति मात्रै छ । अर्को दलको चिन्ता कसरी हुन्छ आफ्नो अध्यक्ष गाँसिएको गिरिबन्धुको ठगीबाट अध्यक्षज्युलाई जोगाउन सकियोस् भन्ने छ । प्रधानमन्त्रीजीलाई चिन्ता गणितलाई कसरी रक्षा गर्ने भन्ने मात्रै छ । प्रधानमन्त्रीको पद शानदार हो, शानदार मात्रै होइन, दमदार पनि हो भन्नेकुरा बिर्सिनुभएको छ । प्रधानमन्त्रीजी उपप्रधानमन्त्रीले बोलेको कुराको जवाफ दिएर बस्नुपरेको छ ।’
शर्माले नेपालमा आशावादी सम्भावनाहरु रहेको भए पनि त्यसलाई सही सदुपयोग गर्न नसकेको बताए ।