डेढ दशकपछि बेनी–भकिम्ली सडक स्तरोन्नति

Advertisement

म्याग्दी । डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति थालिएको छ । उक्त सडकले बेनी नगरपालिका–२, ३, ४ र मंगला गाउँपालिका–३ र ४ वडालाई सदरमुकाम बेनी बजारसँग जोड्छ । 

गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत बेनी–२ को बगरफाँटबाट दूधेखोला–हल्लेगौडा–डोले–मुसुङ जोड्ने सडक ग्राभेल र ढलान गर्ने योजना कार्यान्वयन गरेको हो । 

Advertisement

गत जेठ २९ गते पाँच करोड ५९ लाखमा ठेक्का सम्झौता गरेको माछापुच्छ्रे–हिमालयन जेभी कार्यक्षेत्रमा परिचालित भएको पूर्वाधार विकास कार्यालयका सवइन्जिनियर रविन चोखालले जानकारी दिए । यसको लागत सात करोड ७२ लाख रहेको छ । 

आगामी १८ महिनामा बगरफाँटबाट दूधेखोलासम्मको तीन किलोमिटर सडक ग्राभेल र दूधेखोलाबाट भकिम्लीतर्फ ३९० मिटर सडक ढलान गरिनेछ । सडक सात मिटर चौडा बनाइनेछ । विसं २०६५ मा सडक निर्माण गरिएको हो । उक्त सडक हाल चार मिटर चौडा छ । गण्डकी प्रदेश सरकारद्वारा चालु आवमा दुई करोड बजेट विनियोजन गरिएको उक्त सडकलाई बहुवर्षीय ठेक्का लगाउन १० करोड बजेटको स्रोत सुनिश्चितता गरिएको सवइन्जिनियर चोखालले बताए ।  

विसं २०७६ मा सुरु भएको रघुगंगा गाउँपालिकाको पिप्ले–भगवती सडक यस वर्ष निर्माण सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको चित्रेबाट पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिको तयारी छ ।

Advertisement

Advertisement