अब नेपालबाट पनि भारतमा मोबाइल बैंकिङ र क्यूआर कोडमार्फत पैसा पठाउन सकिने

Advertisement

काठमाडौं । अब रोजगारीका लागि नेपाल आएका भारतीय नागरिकले आफ्नो पारिश्रमिक बापतको पैसा इ-बैंकिङ, अन्तर बैंक भुक्तानी, मोवाइल बैंकिङ र क्यूआर कोडबाटै आफ्नो देश पठाउन सक्ने भएका छन् । 

नेपाल राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले नीतिगत रुपमा यस्तो व्यवस्था गरेको हो । अब बैंक तथा वित्तिय संस्था र  वालेट जस्ता भुक्तानी सेवा प्रदायक संस्थाले यसका लागि आवश्यक प्रणालीको विकास गर्न सक्नेछन् । 

Advertisement

नेपालमा कार्यरत भारतीय नागरिकले नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा भएको बैक खातामा आवद्ध विद्युतीय बैंकिङ्ग (इ–बैंकिङ), अन्तरबैंक भुक्तानी, मोवाइल बैंकिङ, क्यूआर कोर्डबाट भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा पैसा पठाउन सक्नेछन् । 

उनीहरुले प्रति दिन भारु १५ हजार र  प्रति महिना भारु एक लाख जम्मा हुने गरि पारिश्रमिक बापतको पैसा पठाउन सक्नेछन् ।  यसअघि भारतमा कार्यरत नेपालीले मात्रै नेपालमा यही मोडलमा पैसा पठाउन सक्ने व्यवस्था गरिएको थियो । अहिले आएर नेपालमा कार्यरत भारतीय कामदारहरुलाई पनि विद्युतीय प्रणालीबाट आफ्नो देशमा पैसा पठाउन नीतिगत रुपमा बाटो खुल्ला गरिएको हो । 

यस्तै, राष्ट्र बैंकले नेपालको बाणिज्य बैंक तथा राष्ट्रिय स्तरको विकास बैंकमा खोलिएको खातामा आवद्ध क्यू आर कोड लगायतका विद्युतीय माध्यमबाट भारत र भूटानमा समेत भुक्तानी गर्न सकिने व्यवस्था पनि गरिएको छ ।  बिशेषगरी भारतीय रुपियाँ सटही सुविधाका लागि यस्तो सुविधा प्रदान गर्न सकिने बताइएको छ । 

यस्तै, भारतमा कार्यरत नेपालीले विदेशी विनिमय कारोबारको इजाजत नलिएका बैंक तथा वित्तिय संस्था र वालेटमा पनि रकम पठाउन सक्ने गरी नीति गत व्यवस्था गरिएको छ । 

यो राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्था मात्रै हो ।यस्तो कारोबार गर्न इच्छुक बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको भुक्तानी प्रणाली बिभागबाट पूर्वस्वीकृत लिनुपर्नेछ । यस्तै, कारोबार सम्पन्न नभई खाताबाट पैसा काटिएको अवस्थामा दावी परेको ३० दिन भित्र फोर्स सेटलमेन्ट गर्ने व्यवस्था गर्नुपर्ने पनि राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ । 

यद्यपि, राष्ट्रिय भुक्तानी स्वीच पूर्णरुपमा सञ्चालनमा नआएसम्म रिटेयल पेमेन्ट स्वीच मार्फत नै यो सुविधा उपलब्ध गराउनुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।

Advertisement

Advertisement