काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले हरेक ठाउँमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन् । आईतवार आफ्नो पार्टीको महाधिवेशनमा उनले बिना पैसा कुनै पनि सरकारी सेवाहरु प्राप्त गर्ने परिस्थिति नरहेको बताए ।
माधव नेपालले भ्रष्टाचार र बेथितिको अन्त्य कसरी गर्ने ? भन्नेबारेमा काम गर्न आवश्यक रहेको बताए । उनले आफ्नो स्वार्थको निम्ति सरकारी ढुकुटी खर्च गर्ने परम्परा हटाउन आवश्यक रहेको बताए । नेता नेपालले उत्पादनको विकास गर्नका लागि रोजगारी प्रवद्र्धन गर्न आवश्यक रहेको बताए ।
विज्ञान, प्रविधि, अध्ययन र अनुसन्धानका पक्षमा सबैले गम्भीर भएर सोच्न जरुरी रहेको बताउँदै त्यसका लागि नेपालका कम्युनिष्ट पार्टीहरुमा एकता र सहमति आवश्यक रहेको बताए । माधव नेपालले भने, ‘अहिले प्रत्येक ठाउँमा भ्रष्टाचार छ । बिना पैसाको कुनै काम हुँदैन । सेटिङहरु मिलाइएको छ । त्यसैले यो बेथितिको अन्त्य गर्ने कसरी ? यो नीतिमा पनि देखा पर्छ । काम र व्यवहारमा देखापर्छ । दोस्रो समस्या भनेको सामग्रिक वृहत चिन्तनको कमी । हामी तत्काल अहिले आफ्नो स्वार्थको निम्ति कुन चिज हो परियोजना, त्यो बनाउँछौँ, अर्बौं खर्च गरिदिन्छौँ ।’
उनले थपे, ‘अर्बौं कहाँ खर्च गर्ने ? उत्पादनको विकास गर्नका लागि रोजगारी प्रवद्र्धन गर्नका लागि, देशको आय बढाउनका लागि, सिंगो अर्थतन्त्रलाई उँभो उठाउनका लागि राष्ट्रिय पुँजीको विकास गर्नका लागि, उद्यमशिलताको विकास गर्नका लागि, चाहे कृषि होस्, जलविद्युत, पर्यटन, उद्योग धन्दा यि सबैका लागि पूर्वाधारको विकास होस् । पूर्वाधारको लागि शिक्षा, स्वास्थ्यको विकास होस् । विज्ञान, प्रविधि, अध्ययन र अनुसन्धानका पक्षमा के गर्नुपर्छ, त्यसमा गम्भीर चिन्तन र छलफल गर्नुपर्ने आवश्यकता छ । यसका लागि नेपालका कम्युनिष्ट पार्टीहरुमा एकता र सहमति आवश्यक छ ।’
नेता नेपालले नेकपा एमालेप्रति लक्षित गर्दै एमाले आफ्नो पार्टीसँग मिलेर काम गर्न तयार नभएको बताए ।