सत्ता साझेदारी गर्न सहमत भएका कांग्रेस-एमालेले आर्थिक बोझ बनेका प्रदेशहरु खारेज नगर्ने

Advertisement

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमतिअनुसार पहिला एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने भएका छन् । 

सोमबार राति ललितपुरको एक होटलमा दुई दलबीच भएको सहमतिअनुसार ओली पहिलो चरणमा र कांग्रेसका सभापति दोस्रो चरणमा प्रधानमन्त्री हुनेछन् । 

Advertisement

एमालेले अर्थसहित नौ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिनेछ । दुई दलबीच संविधान संशोधनका लागि सुझाव दिन एक समिति बनाउने पनि सहमति भएको छ । 

कांग्रेस र एमालेबीच केपी ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने समझदारी भएको छ । उनीहरुले संविधानको धारा ७६.२ अन्तर्गतकै सरकार बनाउने योजना बनाएका छन् । 

एमाले महासचिव शंकर पोखरेल र कांग्रेस प्रमुख सचेतक रमेश लेखकसहितको छलफलमा समझदारीको प्रारम्भिक खाका तयार भएको छ । खाका तयार गरिसकेर नेताहरु सभापति देउवा र अध्यक्ष ओलीसहित एक व्यवसायीको महाराजगन्जस्थित निवासमा छलफल गरेका थिए ।

प्रदेशमा पनि ३–३ वटा सरकार बाँडेका कांग्रेस एमालेले दक्षिण छिमेकीलाई खुशी बनाउन मधेशमा चाहिँ मधेशकेन्द्रित दलकै नेतृत्व बनाउन दिने तयारी गरेका छन् । संविधान संशोधनका लागि प्रारम्भिक सहमतिको खाका तयार गरेका उनीहरुले समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने समझदारी गरेका छन् । 

सहमतिअनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैको सिट संख्या घटाउने, पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्न संविधान संशोधन गर्ने, संविधान पुनरावलोकन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाइन् छ । पछिल्लो समयमा निकै अलोकप्रिय बनेको र आर्थिक बोझ बनेको प्रदेश संरचना खारेज गर्न भने उनीहरु तयार देखिएका छैनन् । प्रारम्भिक सहमतिलाई देउवा र ओलीले संभवतः आज हस्ताक्षर गरेर अन्तिम रुप दिनेछन् । 

Advertisement

Advertisement