अर्थमन्त्रीमा पौडेल आउने चर्चासँगै उचालियो शेयर बजार, नेप्से २१ सय अंकमा, सबै समूहमा हरियाली

Advertisement

काठमाडौं । साताको तेस्रो दिन आज शेयर बजार ह्वात्तै बढेको छ । नेप्से उच्च अंकले उचालिएसँगै कारोबार रकम पनि साढे ४ अर्ब नाघेको छ । 

सोमबार राति आकस्मिक रुपमा नयाँ सत्ता समीकरण बनेसँगै शेयर बजारमा उछाल आएको छ । नेकपा एमाले र नेपाली काँग्रेसबीच नयाँ सत्ता समीकरण बनेको र प्रधानमन्त्रीमा केपी शर्मा ओली बन्ने छन् । 

Advertisement

महत्वपूर्ण मन्त्रालयका रुपमा रहेको अर्थमा विष्णु पौडेल मन्त्री बन्ने चर्चा चलेको छ । विगतमा उनी अर्थमन्त्री हुँदा शेयर बजार उचालिने गरेको हुँदा त्यसैको प्रभाव आज बजारमा देखिएको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४७.०४ अंकले बढेको हो । २.२९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २१ सय अंकमा पुगेको छ । 

बजारमा उत्साह छाएसँगै सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी उत्पादनमूलक ३.३०, ट्रेडिङ समूह ३.१२ प्रतिशत र बैंकिङ समूह ३.०३ प्रतिशतले बढेको छ । 

undefined

आज ३१५ कम्पनीका १ करोड १६ लाख ४५ हजार ९ सय ५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार ७ सय २०.०९ रुपियाँ बराबरको कारोबार भएको हो । 

हिमालयन डिस्टिलरीका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.५४ प्रतिशतले नाफा कमाए भने उपकार लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.४६ प्रतिशतले घाटा व्यहोरे । 

आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १२ करोड ३३ लाख ८५ हजार ५ सय ६९.२० रुपयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

आज शेयर बजारमा कारोबार सुरु भएको १ मिनेटमै बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो ।

२० मिनेटपछि खुलेको बजार फेरि ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको छ । ४० मिनेटपछि खुलेको बजार सम्हालिएको थियो । दोस्रो सर्किटपछि नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १०२ अंक (५ प्रतिशत) बढेको थियो । 

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार राजनीतिक समीकरण परिवर्तनको प्रभाव पूँजीबजारमा देखिएको हो । “शेयर बजारमा ठूलो परिवर्तन हुनुपर्ने कारण केही छैन । सरकार परिवर्तनको प्रभाव लगानीकर्तामा परेको हुनसक्छ”, उनले भने । 

साताको पहिलो आइतबार बजार १४.८३ अंकले घट्दा ३ अर्ब ६० करोड ७१ लख ९८ हजार ४ सय ७.६६ रुपियाँ र हिजो सोमबार १६.२९ अंकले बजार बढ्दा २ अर्ब ९९ करोड ९९ लाख ६५ हजार २१.५३ रुपियाँ  बराबरको कारोबार भएको थियो । 

 


 

Advertisement

Advertisement