सिवाईसी लघुवित्तका कर्मचारीले पनि दिए राष्ट्र बैंकमा उजुरी, शर्माविरुद्द आर्थिक अपराधको आरोप

Advertisement

काठमाडौं । सिवाईसी लघुवित्त वित्तिय संस्थाका संचालकले उजुरी दिएको केही दिन बित्न नपाउँदै त्यहाँका कर्मचारीले पनि निवर्तमान प्रबन्ध सञ्चालक डोलेन्द्र शर्माविरुद्द नेपाल राष्ट्र बैंकको गभर्नर कार्यालयमा उजुरी दिएका छन्। 

तत्कालिन प्रबन्ध सञ्चालक शर्माले आफू पदमा नरहेको अवस्थामा पनि विभिन्न आरोप लगाएर आफूलाई अनुचित तरिकाले हटाएको भन्दै उक्त संस्थाको राजविराज शाखाका प्रमुख विवेककुमार जैसवालले शर्माविरुद्द उजुरी दिएको राष्ट्र बैंकले जनाएको छ। 

Advertisement

सञ्चालक तथा प्रबन्ध सञ्चालक पदबाट राजीनामा दिएर अहिले सामान्य शेयरधनीको हैसियत हुँदा पनि शर्माले आफू कार्यरत शाखामा आएर पूरा हुन नसक्ने खालका टार्गेट दिने तथा काम गर्न नसकेको आरोप लगाएर कामबाट निकाल्ने धम्की दिने गरेको  उजुरीपत्रमा उल्लेख छ। 

त्यस्तै शर्माले आफूनिकट तथा आफन्त पर्ने कर्मचारीलाई जति कम्जोर र नराम्रो काम गरेपनि केहि नभनेको तर आफूले भनेको नमान्ने कर्मचारीलाई सुन्न नसक्ने गरि तल्लो स्तरमा पुगेर गालिगलौज गरेको उजुरीपत्रमा उल्लेख छ। 

त्यतिमात्र नभई शाखा प्रमुख जैसवालले शर्मामाथि गम्भीर प्रकृतिका आर्थिक अपराधको आरोप समेत लगाएका छन् । तालिम खर्च भनेर नयाँ कर्मचारीबाट प्रतिव्यक्ति ४.५ हजार उठाएको तालिम खर्चको पैसा लघुवित्तको खाताबाट खर्चिएको, बहालवाला हुँदा ११.१५ प्रतिशत ब्याजमा कर्जा लिएका कर्मचारीलाई जागिर छाड्दा २५.३० प्रतिशत ब्याज तिर्ने सम्झौता गराएको, ऋणी वा ऋणीको श्रीमानको मृत्यु भएमा कर्जा मिनाहा गर्नुपर्ने सुविधा नदिएको, बोराको बोरा अक्सफोर्ड पब्लिकेशन र साझा प्रकाशनका आफैले लेखेका किताबहरु शाखामा ल्याएर थन्क्याइएको र त्यसको बिल भरपाई शाखाको नाममा तर केन्द्रीय कार्यालयबाट गराएको, बिशेषगरि मधेश मुलका कर्मचारीमाथि हेपाया व्यवहार गरेको जस्तो आरोप लगाउँदै उजुरी दिएका छन् । 

आफूले सिवाइसीसिमै जागिर पुनर्बहाली हुनुपर्ने उद्देश्यले उजुरी दिएको नभई अत्याचार र ज्यादती सहेर बसेका अरु कर्मचारीको हकहितको लागि राष्ट्र बैंकमा प्रमाणसहित उजुरी दिएको जैसवालले उल्लेख गरेका छन् । 

Advertisement

Advertisement