प्रदेश खारेजी र पार्टीको कार्यशैलीमा सुधारको आवाज उठाउने रास्वपा महासचिव ढकाल पदमुक्त

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना महासचिव मुकुल ढकाललाई पदबाट हटाएको छ । उनलाई पार्टीका सबै जिम्मेवारीबाट हटाउने रास्वपाले निर्णय गरेको हो । 

रास्वपाको मंगलबार बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । उनले प्रदेश खारेजीसहित पार्टीमा पारदर्शिताको आवाज उठाउँदै आएका थिए । साथै, ढकालले पार्टीले आफ्नो कार्यशैली र नीतिमा सुधार नगरे आउँदो २०८४ को आम निर्वाचनमा ठूलो धक्का व्यहोर्ने चेतावनी समेत दिएका थिए । धेरै जिल्लामा जनताहरुसँग साक्षातकार गरी फर्किएपछि प्रतिवेदन बुझाउँदै अहिलेको शैलीले पार्टीको लोकप्रियता घट्दै गएको भन्दै यसमा सुधारको खाँचो औंल्याएका थिए । 

Advertisement

रास्वपाका अनुसार ढकाल अब पार्टीमा साधारण सदस्य मात्र रहेका छन् । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा नेता सोबिता गौतमले अनुशासन आयोगको सिफारिस अनुसार केन्द्रीय समितिले साधारण सदस्य कायम राखेर ढकाललाई अरु सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको जानकारी दिइन् ।

उनका अनुसार ढकाललाई केन्द्रीय समितिको यो निर्णय चित्त नबुझे ३५ दिनभित्र पुनरावेदन गर्न पाउने मौका समेत दिइएको छ । 

Advertisement

Advertisement