आन्तरिक राजश्व बिभागले उठायो झण्डै पाँच खर्ब राजश्व, गत वर्षभन्दा ९ प्रतिशत बढी उठाउने

Advertisement

काठमाडौं । आन्तरिक राजश्व बिभागले असार २४ गतेसम्म बार्षिक लक्ष्यको ७१.५४ प्रतिशत आन्तरिक राजश्व संकलन गरेको छ । 

बिभागले चालु आर्थिक बर्ष २०८०/८१ मा ६ खर्ब ७७ अर्ब ७३ करोड आठ लाख रुपियाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । त्यसमा असार २४ गतेसम्म चार खर्ब ८४ अर्ब ८३ करोड ८४ लाख रुपियाँ राजश्व संकलन भएको छ, जुन लक्ष्यको ७१.५४ प्रतिशत हो । 

Advertisement

बिभागले उपलब्ध गराएको असार २४ गतेसम्मको तथ्यांकले यस्तो देखाएको हो । तर, असार मसान्तसम्म पुग्दा लक्ष्यको शतप्रतिशत राजश्व नउठ्ने बिषयमा बिभाग कन्भिन्स भएको देखिन्छ । असारसम्म पुग्दा बार्षिक लक्ष्यको ७७.४७ प्रतिशत यस्तो राजश्व उठ्ने अनुमान बिभागले गरेको छ । 

असार २५ गतेदेखि असार ३१ गतेसम्म थप ४७ अर्ब ९८ करोड रुपियाँ राजश्व उठ्ने बिभागको अनुमान छ, त्योअनुसार आगामी असार मसान्तसम्म बिभागले पाँच खर्ब २५ अर्ब ६ करोड रुपियाँ राजश्व उठाउने देखिन्छ, जुन राजश्व गत आवको भन्दा ९.४१ प्रतिशतले बढी हुनेछ । गत आवमा आन्तरिक राजश्व बिभागले चार खर्ब ७९ अर्ब ८६ करोड रुपियाँ राजश्व उठेको थियो । 

यो आन्तरिक राजश्व बिभागले उठाउने कर मात्रै हो । यसमा भन्सार बिभाग लगायतका निकायमा उठ्ने राजश्व भने समावेश छैन । यसमा व्यक्तिले तिर्ने आयकर, बिभिन्न कम्पनीले तिर्ने आयकर, आन्तरिक भ्याट, अन्तःशुल्क लगायतका कर समावेश छन् ।

बिभागका सूचना अधिकारी आनन्दकुमार गुप्ताले उक्त तथ्यांकमा अन्य निकायबाट संकलन भएको कर राजश्व समावेश नभएको बताए । बिभागले उठाएको कर मात्रै यसमा समावेश भएको उनले बताए । 

कुनै बस्तु आयात गर्दा भन्सारमा तिरिने भ्याट, अन्तःशुल्क लगायतका कर भने यसमा समावेश छैनन् । देशभर बिभिन्न माध्यमबाट उठ्ने कर र गैर कर राजश्वको एकीकृत तथ्यांक भने महालेखा नियन्त्रक कार्यालयमा हुनेछ । 

समीक्षा अवधिमा बिभागले आयकर मार्फत दुई खर्ब सात अर्ब ९५ करोड २७ लाख रुपियाँ राजश्व संकलन गरेको छ । यसैगरी भाडा करबाट दुई अर्ब ४२ करोड ७० लाख रुपियाँ, व्याजबाट ३६ अर्ब ३६ करोड ४८ लाख रुपियाँ, आन्तरिक भ्याटबाट एक खर्ब २० अर्ब १९ करोड ४५ लाख रुपियाँ र आन्तरीक अन्तःशुल्कबाट एक खर्ब दुई अर्ब २६ करोड ९१ लाख रुपियाँ राजश्व प्राप्त भएको छ । 

यसैगरी स्वास्थ्य सेवाबाट ६ अर्ब ५० करोड ४१ करोड, शिक्षाबाट ३ अर्ब २६ करोड ३६ लाख र अन्य माध्यमबाट सात अर्ब ८६ करोड २२ लाख रुपैयाँ राजश्व संकलन भएको छ । 

कति पुग्यो सरकारको कूल राजश्व संकलन ? 
सोमबार अर्थात् असार २४ गतेसम्म सरकारको कूल राजश्व संकलन भने १० खर्ब १५ अर्ब ८२ करोड दुई लाख रुपियाँ पुगेको छ, यो बार्षिक लक्ष्यको ६८.९९ प्रतिशत मात्रै हो । सरकारले चालु आवमा १४ खर्ब ७२ अर्ब ४८ करोड रुपियाँ राजश्व उठाउने लक्ष्य लिएको थियो । 

यस अवधीमा सरकारको कुल कर राजश्व संकलन आठ खर्ब ८८ अर्ब ५३ करोड २९ लाख रुपियाँ पुगेको छ । महालेखा नियन्त्रणकको कार्यालयको तथ्यांकले यस्तो देखाएको हो । गैर कर राजश्व भने एक खर्ब १ अर्ब ४३ करोड २६ लाख रुपियाँ उठेको छ । 

अनुदानबाट दुई अर्ब ७५ करोड ८० लाख रुपियाँ र अन्य माध्यमबाट २३ अर्ब ९ करोड ६७ लाख रुपियाँ आम्दानी भएको छ । सरकारको खर्च भने १३ खर्ब ५६ अर्ब २१ करोड ५२ लाख रुपियाँ भएको छ । त्योअनुसार समीक्षा अवधिसम्म सरकारको बजेट घाटा तीन खर्ब ४१ अर्ब हारहारीमा देखिन्छ । त्यो घाटालाई सरकारले ऋण मार्फत व्यवस्थापन गर्दै आएको छ । ऋणको तथ्यांक भने यसमा समावेश छैन ।
 

Advertisement

Advertisement