सहकारी पीडितहरुसँग संसदीय छानविन विशेष समितिले छलफल गर्ने

Advertisement

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिले पीडितहरुसँग छलफल गर्ने भएको छ । 

मंगलवार सिंहदरबारमा बसेको सो विशेष समितिको बैठकले असार २६ गते बुधवार (भोलि) पीडितहरुसँग छलफल गर्ने निर्णय गरेको हो । 

Advertisement

सहकारीका पीडितहरुसँग प्रतिनिधिमुलक ढंगले छलफल गर्ने निर्णय गरिएको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए । आजको बैठकमा सहकारी विभागका पदाधिकारीसँग छलफल गरिएको थियो । बुधवार पीडितहरुसँग छलफल गरी त्यहाँ भित्रको समस्या समाधानका लागि थप तथ्यहरुको खोजी गर्ने काम हुने पनि विशेष समितिले जनाएको छ ।

सभापति थापाले भने, ‘भोलि हामीले पीडितका प्रतिनिधिहरुसँग प्रतिनिधिमुलक ढंगले छलफल गर्ने योजना बनाएका छौं । २९ वटै सहकारी र अरु पनि सहकारीका प्रतिनिधिमुलक पीडितहरुलाई बोलाएका छौं । सबै पीडितहरु बोलाएर छलफल गर्न सम्भव हुन्न । हामीले विभिन्न संघर्ष समितिका रुपमा, व्यक्तिगत रुपमा अनेक हिसावले सहकारीबाट पीडित रहेका पीडितहरुको कुरा सुन्ने कार्यक्रम बनाएका छौं ।’

विशेष समितिले यसअघि सम्बन्धित निकाय र विज्ञहरुसँग छलफल गरेको थियो । अब पीडितहरुसँग पनि छलफल गरी सहकारी क्षेत्रमा देखिएको समस्या र समाधानको उपायहरुको खोजी गरिने पनि विशेष समितिका सभापति थापाले बताए । 

Advertisement