बागलुङका दुग्ध किसानले पाए १६ लाख अनुदान

Advertisement

गलकोट । बागलुङका दुग्ध किसानले यस वर्ष दूधमा पाइने अनुदानमार्फत १६ लाख ४२ हजार रुपियाँ रकम भित्र्याएका छन् । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले लिएको योजनामध्ये दूधमा अनुदान कार्यक्रम फलदायी भएको देखिएको छ ।

केन्द्रले घाँस र मासुमा दिइने अनुदान आगामी आर्थिक वर्षदेखि कटौती गरेको जनाएको छ । घाँस र मासुमा दिने अनुदान प्रभावकारी नभएको देखिएपछि बन्द गर्न लागिएको केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले बताए । दूधमा भने प्रतिलिटर २.५ रुपियाँ अनुदान दिँदै आइएको उनले जानकारी दिए ।

Advertisement

यसवर्ष सात वटा दुग्ध उत्पादक सहकारीमा आबद्ध किसानले सोझै उक्त रकम पाएका छन् । दूधमा आत्मनिर्भर गराउन महत्वपूर्ण भूमिका खेलका दुग्ध उत्पादन सहकारीमा आबद्ध किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिँदै आइएको केन्द्रले जनाएको छ ।

चालु आर्थिक वर्षमा केन्द्रले विनियोजन गरेको २४ लाख रुपियाँमध्ये १६ लाख ४२ हजार रुपियाँ रकम सोझै किसानले पाएका केन्द्रका प्रमुख सापकोटाले जानकारी दिए । अनुदान पाउन एउटै संकलन केन्द्रले दैनिक दुई सय लिटर दूध संकलन र बजारीकरण गरेको हुनुपर्ने भएकाले व्यक्तिगत रुपमा दूध बिक्री गर्ने किसान मापदण्डमा नपरेका उनले बताए ।

‘संस्थागत रुपमा दूधको बजारीकरण गरेको तथ्यांकका आधारमा दुई दशमलव पाँच रुपैयाँका दरले अनुदान दिएका छौँ’, सापकोटाले भने, ‘सात वटा सहकारीमार्फत दूधको संकलन र बजारीकरण गर्ने सहकारीमा आबद्ध किसानले मात्रै उक्त रकम प्राप्त गरेका छन् । सहकारीको खातामा राखिएको रकम सहकारीले संकलन गरेको दूधको आधारमा पुनः किसानलाई भुक्तानी गर्दछ ।’

केन्द्रले बलेवाको कालीगण्डकी, जैमिनी, कालीमाटी, नमूना, मिलिजुली, पाला र बागलुङ पशु स्रोत दुग्ध उत्पादक सहकारी संस्थालाई प्रतिलिटर २.५ रुपैयाँका दरले दूधमा अनुदान दिएको हो ।

सात वटै सहकारीले एक वर्षमा छ लाख ५६ हजार लिटर दूध संकलन, प्रशोधन तथा बजारीकरण गरेका छन् । दूधमा अनुदान पाउँदा किसान दूध उत्पादनमा अग्रसर भएका स्थानीय रुद्रनाथ शर्माले बताए । उनका अनुसार पशु सेवा केन्द्रले दिएको तथ्यांकको आधारमा जैमिनी नगरपालिकाले पनि स्थानीय पशुपालक किसानलाई २.५ रुपैयाँका दरले दूधमा अनुदान दिन थालेको छ । 

Advertisement

Advertisement