कांग्रेस र एमालेबीच मन्त्रालय भागबण्डा मिल्यो, को को बन्दैछन् मन्त्री ? शेखर पक्षले माग्यो हिस्सा

Advertisement

काठमाडौं । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालयहरुमा भागबण्डा मिलेको छ । 

समाचारअनुसार एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लिनेछ भने कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, शहरी विकास, स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय लिनेछ ।

Advertisement

मन्त्रालयहरुको भागबण्डा मिले पनि मन्त्रीहरुको टुंगो लगाउन भने दुवै दलका नेताहरुलाई सकस भएको छ । उनीहरुले सोमबार बिहानसम्म मन्त्रीहरुको पनि टुंगो लगाउने गरी गृहकार्य गरिरहेको स्रोतको भनाई छ । प्रधानमन्त्रीमा केपी ओली नियुक्त भए पनि मन्त्रीहरुको समेत टुंगो लगाएर सोमबार नै सपथ ग्रहण गर्ने तयारी गरिएको छ । 

कांग्रेसले प्रकाशमान सिंहलाई उपप्रधानमन्त्रीसहित सरकारमा पठाउने टुंगो लगाए पनि कुन मन्त्रालय दिने ? टुंगो लगाउन सकेको छैन् । यता एमालेले विष्णु पौडेललाई उपप्रधानसहित अर्थ मन्त्रीको जिम्मेवारी दिने तयारी गरेको छ । मन्त्रीहरु टुंग्याउन एमाले अध्यक्ष ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच कुराकानी भइरहेको छ । कांग्रेसबाट शेखर कोइराला र गगन थापाको संयुक्त समूहले चार मन्त्रालय दावी गरेको छ । सो समूहले मन्त्री बन्नेहरुको नाम नै सभापति देउवालाई बुझाएको छ । 

एमालेबाट योगे भट्टराई, पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा, पदम गिरि, जुली महतो, कृष्णगोपाल श्रेष्ठ, विद्या भट्टराई, तारा लामालाई मन्त्री बनाउने ओलीको तयारी रहेका छन् । यो नाम बिहानसम्म हेरफेर हुनसक्ने संभावना पनि रहेको स्रोतको भनाई छ । 

त्यस्तै, कांग्रेसबाट शेखर कोइराला पक्षले प्रदीप पौडेल, रामनाथ अधिकारी, हृदयराम थानी र तेजुलाल चौधरीको नाम सिफारिस गरेको छ भने देउवाबाट प्रकाशमान सिंह, रमेश लेखक, आरजु देउवाको नाम चर्चामा छ । साथै, कांग्रेसबाट जीवन परियार पनि मन्त्री बन्ने संभावना रहेको जनाइएको छ । 

Advertisement

Advertisement