प्रकाशमान आफैले रोजे शहरी विकास मन्त्रालय, बालेनलाई ‘साइज’मा ल्याउने

Advertisement

काठमाडौं । नेपाली कांग्रेसबाट सरकारमा नेतृत्व गर्न लागेका साँसद प्रकाशमान सिंहले आफैले शहरी विकास मन्त्रालय रोजेका छन् । उनी उपप्रधानमन्त्री भएर सरकारमा जान लागेका हुन् । 

गृह र परराष्ट्रबाहेक कांग्रेसका भागमा परेका जुनसुकै मन्त्रालय पाउन छुट भए पनि उनले शहरी विकास मन्त्रालय रोजेका हुन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहको लोकप्रियताबाट पहिलेदेखि नै त्यति सन्तुष्ट नरहेका सिंहले शहरी विकास मन्त्रालयमार्फत बालेनलाई नियन्त्रण गर्ने सोचमा रहेको स्रोतले बतायो । 

Advertisement

कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको छोरा भए पनि उनमा नेतृत्व क्षमता भने छैन् । बाबुको लिगेसीका कारण काठमाडौं क्षेत्र नम्बर १ का मतदाताले सिंहप्रति सहानुभूति जनाउँदै जिताउँदै आएका छन् । डेढ बर्षअघिको निर्वाचनमा पनि उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रवीन्द्र मिश्रलाई जम्मा १२५ मतले मात्रै जितेका थिए । मिश्रलाई हराउन थुप्रै उम्मेदवार खडा गरिएको बेला सिंह गठवन्धनको बलमा चुनाव लड्दा पनि मुस्किलले जितेका हुन् । 

स्थानीय निर्वाचनमा आफ्नी श्रीमतीलाई काठमाडौंको मेयरमा उठाए पनि यहाँका मतदाताले स्वतन्त्ररुपमा उठेका युवा उम्मेदवार बालेन शाहलाई जिताएपछि सिंह निराश भएका थिए । श्रीमती सिर्जना सिंहलाई पहिला मेयरमा जिताएर त्यसपछि राष्ट्रपतिको उम्मेदवार बनाउने सिंहको योजनामा बालेन बाधक बनेका थिए । 

शहरी विकास मन्त्रालय र स्थानीय निकायबीच विकास निर्माणदेखि फोहोर व्यवस्थापनको कुरामा सिधा सम्वन्ध र समन्वय हुन्छ । मन्त्रालयले चाहँदा स्थानीय तहको काममा अवरोध र सहजीकरण दुवै गर्नसक्छ । पछिल्लो समय बालमन्दिरको जग्गा अनियमितता प्रकरणमा मुछिएपछि नेता सिंह नैतिक संकटमा परेका थिए । 

कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार बिहान आफ्नो निकट नेताहरुसँग छलफल गरेपछि मन्त्रीहरुको अन्तिम सूची तयार पारेका छन् जसमा उनकी श्रीमती आरजु राणाको समेत नाम छ । आरजुले परराष्ट्र मन्त्रालय पाउने छिन् । 

त्यस्तै, कांग्रेसबाट रमेश लेखक गृहमन्त्री हुने छन् भने अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, दीपक खड्का उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र ऐनबहादुर शाही वन मन्त्री बन्ने छन् । त्यस्तै शेखर कोइराला तथा गगन थापाको समूहलाई स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद, संस्कृति, पर्यटन तथा नागरिक उडडयन र कृषि विकास मन्त्रालय दिइएको छ ।

सो समूहबाट तेजुलाल चौधरी, जीवन परियार, प्रदीप पौडेल, हृदयराम थानी र रामनाथ अधिकारीमध्येबाट छान्ने तयारी गरिएको छ । आजै प्रधानमन्त्रीसहित मन्त्रीहरुले ११ बजे सपथग्रहण गर्ने कार्यक्रम छ । 

Advertisement

Advertisement